काठमाडौंः काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित सालिक चोकबाट प्रतिबन्धित कस्तुरीको विना सहित २ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–८ चिसापानी घर भई काठमाडौं बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र सोही ठाउँ घर भई काठमाडौं डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामा रहेका छन् ।

दरबारमार्ग क्षेत्रमा प्रतिबन्धित कस्तुरीको विना अवैध रुपमा किनबेच गर्नको लागि लुकाई छिपाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए ।


उनीहरुबाट १ थान कस्तुरीको विना र ४ थान मोबाइल बरामद भएको उनले बताए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, २०:१९