काठमाडौंः नेपाली कांग्रेसका थप तीनजना केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा गरिएको परीक्षणमा पाँचजना र उपत्यकाबाहिर गरिएको परीक्षणमा दुई जना गरेर सातजना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा, रमेश रिजाल, अजय चौरासिया, शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी र जंगीलाल रायमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो । संक्रमण पुष्टि भएका नेताहरु अहिले होम आइसोलेसनमा छन् ।


सात जना केन्द्रीय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि डाकिएको बैठक स्थगित गरी २५ गतेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


प्रकाशित मितिः आइतबार, असोज १८, २०७७, १६:०६