काठमाडौँः कांग्रेसका नवनियुक्त पदाधिकारीले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए ।

‘व्यक्तिसँग हाम्रो कुनै गुनासो होइन । प्रक्रिया गलत भयो भन्ने हो । सभापतिजीको कार्यशैली र व्यवहारको प्रश्न हो,’ तीनै पदाधिकारीसँगको भेटपछि पौडेलले भने, सभापतिजीले पार्टीका क्रियाकलाप सच्याएर अघि बढ्नु हुन्छ कि हुन्न भन्नेमा सहयोग गर्ने कि नगर्ने भन्ने भर पर्छ ।


।’

महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्नुपर्ने विधानको प्रावधान संशोधन नै नगरी सभापति देउवाले २६ महिनापछि पदाधिकारी मनोनयन गरेका थिए । जसलाई लिएर पौडेल र सिटौला पक्षले बैठक बहिष्कार गरेको थियो ।

‘अब जे भयो–भयो, पार्टीलाई एकताका साथ अघि बढाउन तपाईंहरूकै मार्गदर्शनअनुसार अघि बढ्छौं भनेर हामीले भन्यौं,’ उपसभापति निधिले भने, ‘उहॉले पनि शीर्ष नेताहरूबीच कुनै विषयमा फरक धारणा भए पनि मिलेर जानुपर्ने धारणा राख्नुभयो ।’ महामन्त्री कोइरालाले पनि एकता र सहमतिको विकल्प नभएको धारणा राखेका थिए ।

तीनै पदाधिकारीसँग पौडेलले विधान संशोधनमा सल्लाह गरेर अघि बढ्न, मस्यौदा समिति र पार्टीका विभाग तत्काल गठन गर्न माग गरेका थिए । त्यस्तै, विधान संशोधनका लागि जिल्ला सभापतिहरूको राय लिनसमेत पौडेलले सुझाव दिएका थिए । कान्तिपुर दैनिकमा प्रकाशित छ ।