कपिलवस्तुः नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कपिलबस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य रहेका शाहविरुद्ध ज्यान मार्ने कसुर गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको हो ।

सांसदले राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्रको ज्यान मार्ने उद्योग गरेको भन्दै उनीविरुद्ध इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएसँगै प्रहरीले उनलाई पक्रन प्रहरीले अदालतसँग पूर्जी मागेको थियो ।

सांसद साहले ‍पुस ५ गते आफ्नै घरमा बोलाएर कोठाभित्र थुनेर नसालु पदार्थ सुँघाई कुटपिट गरेको राप्रपा नेता मिश्रको जाहेरीमा उल्लेख छ ।


अदालतले पक्राउ पूर्जी जारी गर्ने आदेशसँगै शाहलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिए ।

मिश्रले शाहले आफ्नो मुखभित्र बन्दुक राखेर ज्यान मार्ने धम्की दिएको जाहेरीमा उल्लेख गरेका छन् ।

सांसद शाह हाल भारत गएको प्रहरीले बताएको छ ।

शाह निर्वाचित सांसद भएका कारण प्रहरीले उनलाई पक्राउ गर्नुको कारणबारे संघीय संसद सचिवालयलाई जानकारी गराउनुपर्ने हुन्छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरी प्रधान कार्यालयमार्फत संघीय संसद सचिवालयमा शाहलाई पक्राउ गर्नुपर्ने कारणसहित जानकारी गराउन लागिएको जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, पुस १८, १३:४४