काठमाडौंः नेपाली कांग्रेसले राज्यको सङ्घीय ढाँचा अनुसार पार्टीको विधान मस्यौदा तयार गर्न महामन्त्रीको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गर्ने भएको छ ।

पार्टीका महामन्त्रीद्वय डा. शशाङ्क कोइराला वा पूर्णबहादुर खड्काको संयोजकत्वमा बढीमा ११ सदस्यीय समिति केही दिनभित्रै गठन हुने जानकारी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

‘सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूलाई केही दिनअघि बोलाएर विधान मस्यौदा समितिको गठन गर्ने तयारी गर्न निर्देशन दिइससकेका छन् र त्यसका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूसँग सल्लाह गरेर छिट्टै गठन हुन्छ,’ उपसभापति निधिको भनाइ छ ।


आगामी भदौमा पार्टीको महासमिति बैठक बोलाउने निर्णय कांग्रेस केन्द्रीय कार्य समितिको यसअघिको बैठकले गरिसकेको छ । विधान मस्यौदा समितिमा रहने सदस्यहरूको नाम दिन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आग्रह गरिए पनि उहाँहरूले नामहरू दिइसकेकोले समिति गठनमा ढिलाइ भएको पदाधिकारीहरूको दाबी छ ।

देश सङ्घीय ढाँचामा गए पनि कांग्रेसको सङ्गठन ढाँचा पुरानै छ । संविधानमा पार्टीको विधानमा केन्द्र, प्रदेश तथा स्थानीय तहमा बन्ने कार्यकारी समितिमा अनिवार्यरूपमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनैपर्ने व्यवस्था छ । सोही प्रयोजनका लागि निर्वाचन आयोगले सबै राजनीतिक दललाई दबाब दिइसकेको छ ।