काठमाडौंः संसद विघटनविरुद्ध नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज बसेको केन्द्रीय कार्य समितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते सबै स्थानीय तहका सबै वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

यस्तै, कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।


यसअघि, कांग्रेसले गत पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ ।

कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताउँदै आएको छ ।

त्यस्तै, बैठकमा महाधिवेशनका सन्दर्भमा अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । यसअघि मंसिर मसान्तलाई तोकिएको क्रियाशील सदस्यता वितरणको समय बढाएर माघ मसान्तसम्मलाई थप गरिएको छ ।

आगामी बैठक पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।


प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, १९:२३