डा.रामशरण महतको कांग्रेसभित्र भिन्‍नै छवि र पहिचान छ। गुटबन्दी नरुचाउने रामशरण न संस्थापनको ‘कोर लिस्ट’ पर्छन् न त असन्तुष्ट रामचन्द्र र सशांकको ‘क्लोज क्याम्प’ मा । संगठनमा उनको आफ्नै प्रभाव र पहुँच छ । सबै गुट र समूहका नेता तथा कार्यकर्ताले उनलाई मान्छन् र माया पनि गर्छन् ।

पार्टीको आन्तरिक राजनीतिमा खासै चर्चामा आउन नचाहने रामशरणका अभिव्यक्ति र कदमले पार्टीमा बेलाबेलामा बेग्लै तरंग ल्याउने गर्छ। पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिदा कांग्रेस पछि परेको भन्‍ने रामशरणको पछिल्लो अभिव्यक्तिले यतिबेला कांग्रेस वृत्तमा तरंग पैदा गरेको छ।

बिपी कोइरालाको १०४ जन्मजयन्तीको अवसरमा भदौं २४ मा कांग्रेस मध्यपुर थिमिनगरले आयोजना गरेको गोष्ठीमा रामशरणले दिएको यो अभिव्यक्तिलाई कांग्रेसको चरित्र र निष्ठासँग जोडेर बहस सुरु भएको छ।


। महतले भनेजस्तै कांग्रेस सुविधाभोगी र सत्तामुखी भएको आम आक्षेप पछिल्लो समय पार्टीका नेता तथा कार्यकर्ताले हरेक फोरममा सामना गर्नुपरेको छ।बिपी र गणेशमानले सत्ता र पदका अनेक अवसर त्यागेर पार्टीलाई शिरोपर गरेको कांग्रेसको इतिहास र मूल्य पछिल्लो समय ओझेलमा पर्दै चिन्ता आम कांग्रेसीजनबाट व्यक्त हुन थालेको छ।

विष्णु सुवेदी

रामशरण कांग्रेसको बौद्धिक नेता अनि प्रखर वक्ता हुन्। आर्थिक मामिलामा त उनी विज्ञ नै भइहाले, राजनीतिक मुद्दाहरुमा उनी जस्तो खरो र दरो रुपमा बोल्‍नसक्‍ने त्यो तहको नेता कांग्रेसमा अरु कोही छैन। कार्यकर्ता तहमा राम्रो छवि र प्रभाव छ। छिमेकीसँगको सहकार्य तथा अन्तराष्ट्रिय सम्बन्धमा उनको राम्रो अनुभव र ज्ञान छ। दाता समुदायसँग उनको सिधा सम्पर्क र पहुँच छ। विदेशीसँग पुरै आत्मविश्‍वासका साथ डिल गर्नसक्ने नेतामा उनी पर्छन्। प्राज्ञिक जगतमा उनको आफ्नै विश्‍वसनियता छ भने उनीप्रति नागरिकस्तरमा पनि बेग्लै भरोसा छ। प्रजातन्‍त्रको पुनरस्थापनापछि नेपालमा उदार अर्थतन्‍त्रको जग बसाउने काम नै उनले गरेका थिए।निजी क्षेत्रका लागि एउटा असल अभिभावक हुन् महत। जसले निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित मात्र गरेनन्, एउटा अभियानका रुपमा अघि बढाए। विश्‍वकै उत्कृष्ट अर्थमन्‍त्रीका रुपमा उनी सम्मानित भइसकेका छन् । मुलुकमा आर्थिक सुधारको शृखंला महतले नै प्रारम्भ गरेका थिए, जसको परिणाम र प्रभावमा अहिले अर्थतन्‍त्र अडिएको छ।

यी सबै गुण र क्षमता हुँदाहुँदै पनि कांग्रेसभित्रको राजनीतिमा रामशरणलाई अघि बढ्न किन दिइएन ? यो प्रश्‍नले कांग्रेसका हरेक स्वाभिमानी र बौद्धिक कार्यकर्तालाई सधै घोच्‍ने गरेको छ। वैचारिक रुपमा निकै स्पष्ट र खरो महत व्यवहारमा सारै नरम र सरल छन् । खुरापात र चलखेलमा त्यति धेरै रुचि नराख्‍ने महतको ‘भलाद्‌मी राजनीति’ले गर्दा पृष्ठभूमि,क्षमता, पहुँच र प्रभाव हुँदाहुँदै पनि उनी अगाडी आउन सकेका छैनन् । रामशरणको चर्चा चल्दा कांग्रेसी कार्यकर्ता मात्र होइन, कांग्रेसका सुभचिन्तकहरुले प्राय: एउटै प्रश्‍न सोध्‍ने गर्छन्, रामशरण त उहिल्यै प्रधानमन्‍त्री हुनुपर्ने मान्छे तर कांग्रेसभित्र उनी फिट हुन सकेनन् ?

महत कहिल्यै पनि गुटको नेता बन्‍न चाहेनन् । स्वाभिमान र राजनीतिक निष्ठमा उनले सम्झौता गरेनन् । पार्टी नेतृत्वले लिने गलत निर्णय र कार्य शैलीको आलोचना र विरोध गर्न पनि पछि नपर्ने महत कुनै पनि गुटको ‘प्रिय’ वा ‘एसम्यान’ बन्‍न सकेनन्। कांग्रेसभित्र महतलाई आदर र विश्‍वास गर्ने धेरै छन् तर पछाडि लाग्‍ने नेता र कार्यकर्ता कम छन् । किनकि पछिल्लो समय कांग्रेसमा विचार, निष्ठा र मूल्यभन्दा पनि पद, पैशा र सुविधाको पछि कुद्‍ने प्रवृत्ति हावी भएको छ। तर महत कार्यकर्ता र नेता पाल्‍ने परिपाटीको कट्टर विरोधी हुन् । अन्यायमा परेका कार्यकर्तालाई न्याय दिलाउन उनी मरेर लाग्छन् तर सुबिधा र पद वा अन्य लाभ दिलाउने विषयमा उनको सक्रियता सधै कम हुन्छ। कार्यकर्तामा स्वार्थी र सुविधाभोगी प्रवृत्ति हावी भएकै कारण रामशरणजस्ता भलाद्‌मी नेताहरु कांग्रेसमा पछि परेको गुनासो कांग्रेसभित्रै पनि सुन्‍न पाइन्छ।

स्कूले जीवनमै राजनीतिमै होमिएका महतको राजनीतिक संघर्ष र यात्रा लामो छ। त्रिपुरेश्वरस्थित विश्व निकेतन हाइस्कुलबाट १३ वर्षको उमेरमा एसएलसी पास गरेपछि त्रिचन्द्र क्याम्पसमा भर्ना भएको रामशरणलाई त्यही बेलादेखि राजनीतिक नशाले समायो। ०२१ साल चैतमा पञ्चायतविरुद्ध विद्यार्थी आन्दोलन भयो, त्यसमा उनी सक्रिय सहभागी भए। त्यसपछि उनलाई भद्रगोल जेलमा कोचिएको थियो। जेलबाट निस्केर उनी स्‍नातक गरेर केही समय हेडमास्टर बनेर काम गरे, त्यो क्रममा पनि उनले प्रजातान्‍त्रिक आन्दोलनलाई सघाए। एमएमा उत्कृष्ट अंक ल्याएपछि बेलायत र अमेरिकामा उच्च शिक्षाको छात्रवृत्तिका लागि उनी छनोट भए तर पंचायती सरकारले उनलाई जान रोक लगायो पछि भारतको पुना गएर उनले अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरे। त्यसपछि फेरि उनी नेपाल फर्केर राजनीतिमै सक्रिय भए। नेविसंघको देउवाको पहिलो सभापति हुँदा रामशरण महत महामन्‍त्री बनेका थिए।

०३६ सालको जनमतसंग्रहमा महत बिपीको निकटमा रहेर सक्रिय भए। त्यसपछि संयुक्त राष्ट्रसंघीय जागिरका लागि प्रतिस्पर्धामा छानिएपछि केही समय युएनमा काम गरे । युएनमा जानुअघि उनले वीपीसँग सल्लाह लिएका थिए। यसबीचमा पनि उनी पार्टी नेतृत्वसँग निरन्तर सम्पर्कमा रहे र सहयोग गरिरहे। बेलाबेलामा नेपाल आएर आन्दोलनलाई पनि सघाएका थिए।

०४७ सालमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि पार्टीले महतलाई नेपाल बोलायो । स्वदेशमै सक्रिय राजनीति गर्ने सोचसहित युएनको सुविधायुक्त डलरे जागिर छाडेर नेपाल आएका थिए। ०४८ सालको निर्वाचनमा नुवाकोट १ बाट उनी कांग्रेसबाट उम्मेदवार बने । चुनाव हारे पनि उनको विशेषज्ञतालाई सम्मान गर्दै पार्टीले योजना आयोगको उपाध्य बनायो । परिवर्तित परिवेशमा योजना आयोगको पुनरसंरचना र योजनावद्ध विकासको नयाँ अवधारणा उनकै पहलमा अघि बढ्यो। अहिलेसम्म चारपटक राष्ट्रिय निर्वाचनमा महत निर्वाचित भइसकेका छन् । ६ पटक अर्थमन्त्री र एकपटक परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

मुलुकको अनुभवी अर्थविज्ञ मात्र होइन, महत मुलुककै एक पाका राजनीतिज्ञ पनि हुन् ।अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका डा. महतले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र पटक–पटक अर्थ मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका छन् । उनी निरन्तर पार्टीको केन्द्रीय नेतृत्वमा छन्।

कांग्रेसमा नेताहरुको खडेरी कहिल्यै परेन । पार्टीलाई तरंगित गर्ने नेतृत्वको अभाव भने पछिल्लो समयमा खट्किन थालेको छ। कुनै गुट तथा कित्ताको लोकप्रिय नाइके भन्दा पनि सिंगो पार्टी कमान्ड गरेर मुलुकलाई हाँक्‍ने नेतृत्व कांग्रेसका कार्यकर्ताले खोजिरहेका छन् । त्यसका लागि रामशरण महतजस्ता बौद्धिक व्यक्तित्व उपयुक्त पात्र हुनसक्छन् । तर पार्टीको आन्तरिक अंकगणित कठिन र चुनौतीपूर्ण छ। किनभने त्यहाँ रामशरणले भनेजस्तो पैशा, स्वार्थ र पदको चर्को चलखेल हुन्छ। यसबाट विचलित भएर वा डराएर बस्‍ने होइन, यसलाई पनि चिरेर कांग्रेसको नेतृत्व लिने साहस रामशरणहरुले गर्नुपर्छ, अब धेरै ढिलो भइसकेको छ।