काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीय रुपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गरेका हुन् । विधानविपरीत विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको आरोप संस्थापनइतरका नेताहरुले लगाएका छन् । देउवाले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकामा समेत पौडेल पक्षको आपत्ति छ ।

विभाग गठन हुनासाथ वीरगन्जको कार्यक्रममा रहेका वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजालसहितका नेताहरुबीच त्यहीं आकस्मिक भेला भएको थियो ।


। भेलाले सभापति देउवाले गरेको विभाग गठनलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

‘विधानमा महाधिवेशन भएको ६ महिनाभित्रै विभाग गठन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा तोकिएभन्दा दोब्बर विभाग गठन गर्नु विधानविपरीत मात्रै होइन, चुनावको आचारसंहिताविपरीत र महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुष्प्रयास हुनाले विभाग गठन तथा कुनै पनि नयाँ नियुक्तिसँग हामी सहमत छैनौं,’ पौडेल पक्षको भेलाले पारित गरेको निर्णयमा भनिएको छ ।

पौडेल पक्षले शनिबारै भएको आमन्त्रित सदस्य मनोनयनको निर्णयलाई पनि अस्वीकार गर्ने निर्णय गरेको छ । कार्यकालभर गठन हुन नसकेको विभाग अहिले आएर गठन गर्नुका पछाडि महाधिवेशनलाई प्रभावित पार्ने योजना रहेको वरिष्ठ नेता पौडेलले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रकाशित मितिः आइतबार, फागुन १८, ०७:३०