काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कांग्रेसले असोज १९ गते दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुनेछ ।

आज विज्ञप्ति जारी गर्दै उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका हुने बताएका छन्।

बैठकमा सहभागी हुनु अगाडि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले पीसीआर परीक्षण अनिवार्य गरिएको पार्टी मुख्य सचिव पौडेलले बताए ।


‘कोभिड–१९ को महामारीका कारण बैठक अगाडि पीसीआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते बिहान ११ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई परीक्षण गराउनु हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, २१:०६