काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्न लागेको हो ।

देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

देशका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरुलाई परिचालन गरिएको छ ।


कांग्रेस पार्टी कार्यालयका सूचना अधिकारी केशव रिजालका अनुसार सभापति शेरबहादुर देउवाले मकवानपुरको सभालाई सम्बोधन गर्दैछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंमा, उपसभापति विमलेन्द्र निधि भक्तपुरमा, महामन्त्री डा.शशांक कोइराला मोरङमा, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, अर्जुननरसिंह केसी पोखरा, डा. रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित सभालाई सम्बोधन गर्ने छन् ।

यस्तै, अरु केन्द्रीय सदस्यहरू पनि विभिन्न जिल्लामा पुगेका छन् ।

देशभर भएका प्रदर्शनको केन्द्रीय कार्यालय सानेपाबाट मोनिटरिङ गर्ने जिम्मा महामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार नै नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

फाइल तस्विर


प्रकाशित मितिः २०७७ साल मंसिर २९ गते सोमबार, १०:३८