काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको जिकिर गर्दै यस विषयमा सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदनले भूमि मिचिएको पुष्टि हुने आधार भएकाले कांग्रेसले बताएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएको बताएका छन् । ‘झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ’ शर्माले भनेका छन् ।


कांग्रेसले सीमा अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब सुरु गर्न माग गरेको छ ।

हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि कांग्रेसले पार्टीको टोली त्यसतर्फ पठाएको शर्माले उल्लेख गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, २१:०८