काठमाडौंः नेपाली कांग्रेसले दशैं, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नगर्ने भएको छ ।

कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले यस वर्षको चियापान नगरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं. २०३३ मा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्ने परम्परा थियो ।

विपीपछि यो परम्परालाई सर्वोच्च नेता गणेशमान सिंह, पूर्वसभापतिहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिँदै आएका थिए ।

प्रकाशित मितिः २०७९ साल असोज २१ गते शुक्रबार, १२:५९