गुल्मी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाली कांग्रेस चुनावमा पराजय भएपनि सिद्धान्तमा पराजय नभएको बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको ५० दिने महाअभियानको समापन समारोहमा पूर्व अर्थमन्त्री समेत रहेका डा. महतले नेपाली कांग्रेस पराजय हुनुमा गुटको कारण भएको तर सिद्धान्तमा भने झन् शक्तिशाली बनेको बताएका हुन्।

अब नेपाली कांग्रेसले गुट नबनी विकास निर्माणमा लाग्न र संगठनलाई सुदृढीकरणमा लाग्नका लागि सबै एकजुट हुनुपर्नेमा डा. महतले आग्रह गरे। अहिले बामपन्थीहरूले प्रशासनमा समेत राजनीति गर्न थालेको भन्दै यसलाई सचेत गराउँनु कांग्रेसको कर्तव्य समेत रहेको पनि दाबी गरे।


उनले हिजो जे जस्ता कमि कमजोरी भए त्यसलार्इ पाठका रूपमा लिएर पार्टीका नेताहरू एक मतका साथ अघिबढ्नु पर्ने बताए । नेता महतले उदार अर्थनीतिले गर्दा बैंकहरू स्थापना भए उद्योग धन्दाहरू खुले जसले गर्दा मान्छेको आर्थिक स्थिति बढेको भन्ने बताए ।

नेता महतले युवाहरू विदेशीने क्रम बढेकाले श्रमको सम्मान गर्दै नेपाली अर्थतन्त्रलाई स्वदेशमानै राख्नका लागि जोड दिए। भारतीयले नेपालमा श्रम गरेर नै ५० प्रतिशत रकम लगिरहेकाले यसलाई रोक्नका लागि राज्यले ध्यान दिनुपर्ने पनि बताए।

गुल्मी कांग्रेसले थालेको अभियानको सम्मान गर्दै अन्य जिल्लाले पनि यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए।

काठमाडौंमा बसेर टिकट लिने जमनाको अन्त्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता चन्द्र भण्डारीले अब काठमाडौंमा बसेर निर्वाचनका लागि टिकट लिने जमनाको अन्त्य भएको बताए।

गाउँमा नजाने ठूला कुरा गर्ने र निर्वाचनका बेलामा नेताको चाँकडी गरी टिकट लिने जमानाको गुल्मी कांग्रेसले अन्त्य गर्ने बताए। गाउँ नजाने र राजधानी बसेर ठूला कुरा गर्न कांग्रेसमा रोग लागेकाले यसलाई अब अप्रेशन गर्नुपर्ने पनि बताए। पछिल्लो निर्वाचनमा जनताले कांग्रेसलाई सुधार्नका निम्ती हराएको भन्दै भण्डारीले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरे।

अहिलेको बाम सरकारले कांग्रेसलाई विकास निर्माणका विषयहरूमा अपमान गरे १८ महिनासम्म पनि सत्ता टिक्न नदिने ठोकुवा गरे। बैशाख १ देखि सुरु भएको ५० दिने ‘गाउँ जाऊँ गाउँमै रमाऊ’ महाअभियानको समापन कार्यक्रममा जिल्लाका ९३ वटै वडाका पार्टी सभापतिहरू एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।