काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच आरोप प्रत्यारोप चलेको छ । कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियानमा शेरबहादुर देउवानिकट मानिने अध्यक्ष र रामचन्द्र पौडेल निकट मानिने महासचिव दुबै जनाले आ आफै तरिकाले मातहतका जिल्लाहरुमा पत्राचार गरेका थिए ।

कार्यकाल सकिन दुई महिना पाँच दिन बाँकी रहेका बेला अध्यक्ष र महासचिवको यस्तो रमिताले आमकार्यकर्ता चिन्तित बनेका छन् । मंगलबार महासचिव शाहीले सांगठनिक कारबाहीमा परेका सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष सगुन श्रेष्ठको कारवाही फुकुवा र सप्तरीमा आफूनिकटलाई अध्यक्षको जिम्मेवारी दिएपछि अध्यक्ष बस्नेतले शाहीलाई पदीय हैसियतबारे सचेत गराएका थिए ।


अध्यक्ष बस्नेतले बुधबार दिउँसो विज्ञप्ति जारी गरेर महासचिव शाहीलाई मनोमानी ढंगले समानान्तर जसरी काम नगर्न सचेत गराएका छन् ।
विज्ञप्तिमार्फत् बस्नेतले ‘पदीय जिम्मेवारीको परिधिमा रहन र संगठनको हित विपरीत अशिष्ट व्यवहार र क्रियाकलाप नगर्न सचेत गराइन्छ’ भनेका छन् ।

अध्यक्ष बस्नेतले वक्तव्य जारी गरेलगत्तै महासचिव शाहीले विज्ञप्तिमार्फत् “नेपाल तरुण दलका केन्द्रीय अध्यक्षले एकलौटी विधान विपरीत गरेका सम्पूर्ण निर्णयहरु आजैका मितिदेखि खारेज गरिएको छ” भनेका छन् ।


प्रकाशित मितिः भाद्र २५ बुधबार, १६:३२