काठमाडौंः हेटौंडामा बुधबार बिहानदेखि नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बन्द सत्र सुरु भएको छ ।

मंगलबार देखि सुरु भएको भेलामा कांग्रेसका अधिकांश शिर्ष नेताहरु सम्बोधन गरेका थिए । आजदेखि सुरु भएको बन्दसत्रमा अधिकांश जिल्ला सभापतिहरुले नेतृत्वको आलोचना गरिरहेका छन् ।

बन्दसत्रमा बोल्दै चितवनका सभापति जित नारायण श्रेष्ठले कहिले माओवादीलाई र कहिले राप्रपालाई भोट हाल्न लगाउने नेतृत्वले कांग्रेसलाई चाहीं कहिले भोट हाल्ने भन्दै गुनासो गरेका छन् । ईलाम जिल्ला सभापति रहेका हिमालय कर्माचार्यले बन्द सत्रसत्रमा सिनियर नेताहरुलाई बोल्न नदिइएको बारे आलोचना गरे ।


दोलखाका रुद्र खड्काले भने पार्टी सभापतिको पक्षमा बोल्दै चुनावमा बेहोरेको हारको जिम्मा सबैले लिनुपर्ने भन्दै सभापतिमात्र दोषी नभएको अभिब्यक्ति दिए भने रामेछाप जिल्ला सभापति लभश्री न्यौपानेले जिल्ला समितिहरुलाई कुनै अधिकार नदिएको भन्दै आलोचना गरे ।

जिल्ला सभापतिहरुको भेला हेटौंडा घोषणापत्र जारी गर्दै बिहिबार सकिने छ ।