हेटौंडा: मकवानपुरको हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले २१ बुँदे घोषणापत्र पेस गरेको छ ।

घोषणापत्रको ड्राफ्ट तयार गर्ने जिम्मेवारी सातवटै प्रदेशका ७ जना जिल्ला सभापतिहरुलाई दिइएको थियो। भेलाले १ नम्बर प्रदेशबाट इलामका सभापति हिमालय कर्माचार्य, २ नम्बर प्रदेशबाट पर्साका सभापति अजय द्वीवेदी, ३ नम्बर प्रदेशबाट काभ्रेका सभापति मधु आचार्य, ४ नम्बर प्रदेशबाट स्याङ्जाका सभापति कमल पंगेनी, ५ नम्बर प्रदेशबाट रोल्पाका सभापति अमरसिंह पुन, ६ नम्बर प्रदेशबाट रुकुमका सभापति प्रेमप्रकाश ओली र ७ नम्बर प्रदेशबाट कञ्चनपुरका सभापति हरिप्रसाद बोहरालाई विधान सम्बन्धि ड्राफ्ट तयार गर्ने जिम्मेवारी प्रदान गरिएको थियो ।


सभापतिहरुसँग समन्वय गर्न भने केन्द्रीय सदस्य रमेश लेखक, मिनेन्द्र रिजाल र प्रवक्ता विश्वप्रकाश शर्मालाई ताकिएको थियो ।

घोषण पत्र तयार गरेसँगै काभ्रे जिल्लाका सभापति मधु आचार्यले घोषणापत्र पेस गरेका थिए । घोषणापत्र सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ।

भेलाले मुलुकका तमाम चुनौतीको सामना गर्न पार्टी नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न सुझाव समेत दिएको छ । भेलापछि जारी १९ बुँदे घोषणापत्रमा राष्ट्रिय जागरण अभियान सूरु गर्न तथा भातृ संस्थाहरुलाई तत्काल विधानअनुसार अधिबेशनमार्फत नयाँ नेतृत्व चयन गर्नतर्फ लाग्न पार्टी नेतृत्वलाई आग्रह गरेको छ । त्यस्तै स्थानीय तह देखि केन्द्र सम्म कांग्रेका प्रस्तुतिलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ।

पेस भएको घोषणापत्रमा सरकारका पछिल्ला गतिविधिलाई आतंकका संज्ञा दिँदै विरोध गरिएको छ। यस्तै, सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाइएको छ। वर्तमान सरकारका काम कारवाहीप्रति कडा टिप्पणी गदै सरकारको सञ्चार जगतमा लिएको हस्तक्षेपकारी नीति विरुद्ध शसक्त उभिन पार्टी नेतृत्वसमक्ष आग्रह गरेको छ ।

कम्युनिष्ट सरकार बनेपछि नागरिकले चर्को मूल्यबृद्धिको उपहारलाई यो भेलालो गम्भिरतापूर्वक लिएको छ । मूल्यबृद्धिबारे एकातर्फ प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र मुल्यबृद्धिको विरोधमा आम विद्यार्थीहरुको शान्तिपुर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रदर्शन भएको उल्लेख गरिएको छ ।

घोषणापत्र अनुसार एक वर्षसम्म सबै तहमा कार्यकर्ता प्रशिक्षणको कार्यक्रम तय गरिनुका साथै संविधान संशोधनमा सरकारले अलमल गरेको भन्दै सरकारको विरोध समेत गरिएको छ।

सरकार संघीयताविरोधी भएको पनि आरोप घोषणापत्रमा लगाइएको छ। यस्तै, कांग्रेस नेतृत्वका सरकारले गरेका लोककल्याणकारी निर्णयको निरन्तरता नदिएकोमा पनि घोषणापत्रमार्फत आपत्ति जनाइएको छ।

यसै क्रममा नेपाली काँग्रेस सुर्खेत जिल्ला कार्यलयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटान पुनः दोहोरिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।