काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने लागेको हो ।

पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने छन् ।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने उनले बताए ।


पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, १२:०९