काठमाडौंः नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) आज निधन भएको छ ।

आज मध्यान्ह्र १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको ९९ वर्षको उमेरमा निधन भएको उनका परिवारजनले जानकारी दिएका छन् ।

उनका श्रीमति, तीन छोरो र दुई छोरी छन् ।

विक्रम संवत् १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा प्रसाईंको जन्म भएको थियो । उनी काँग्रेसका बैद्धिक तथा लोकतान्त्रिक समाजवादको व्याख्याता स्वर्गीय सीके प्रसाईंका सहोदर दाइ हुन् ।

यसैगरी, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वकोषाध्यक्ष प्रसाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


आज एक विज्ञप्ति जारी गरी सभापति देउवाले उनको मृतआत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

सभापति देउवाले प्रसाईंको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष, अग्रज समाजसेवी, सत्यवादी नेताको रुपमा आफ्नो बेग्लै पहिचान बनाउनु भएका रामवावु प्रसाईको निधनको खबरले मलाई दुःखीत बनाएको छ । स्वर्गीय प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।’

शोक वक्तव्य


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १७:२७