भक्तपुरः नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेस बनाउन गुट समाप्त गर्नुपर्ने बताएकी छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन भक्तपुरले शनिबार आयोजना गरेको जीपी कोइरालाको जीवन वृत्त एवं परिचर्चा विषयक अन्तरक्रियामा बोल्दै नेतृ कोइरालाले भनिन्, ‘कांग्रेस बनाउन गुटलाई समाप्त पार्नुपर्छ । कसैले पनि गुटको राजनीतिक गर्नु हुँदैन’

‘गुट र उपगुट पार्टीका लागि राम्रो होइन, गुट समाप्त हुनुपर्छ’, उनले भनिन्, ‘गुटले पार्टीलाई त बिगारेकै छ । यसले कांग्रेसलाई मात्र होइन, देशलाई समेत क्षति पुर्‍याउँछ ।’

कोइरालाले बहस र छलफलको माध्यमबाटै पार्टीभित्रको समस्या समाधान गरी अघि बढ्नुपर्ने धारणा राखिन् ।


देशको सीमा मिचिँदा सरकारसँगै कांग्रेस नेतृत्व पनि आवाज उठाउन चुकेको उनको भनाइ थियो ।

कोइरालाले सीमा मिचिँदा पनि ओली सरकार भने राष्ट्रवादीको कुरा गरिरहेको आरोप लगाइन् । ‘देशको भूमि छिमेकीले हड्पिसक्यो तर सरकार एक इन्च पनि छोडिँदैन भनेर राष्ट्रवादको स्वाङ गरिरहेको छ’, उनले भनिन् ।

फाउन्डेसनको केन्द्रीय अध्यक्ष समेत रहेकी कोइरालाले फाउन्डेसनले युवा लक्षित कार्यक्रम ल्याउने जानकारी दिइन् ।

कार्यक्रममा अर्थशास्त्री डा. विश्व पौडेलले नेपालको आर्थिक विकासको इतिहाससँगै हाल चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसीसीबारे विस्तृत जानकारी दिएका थिए ।

पूर्वराजदूत जयराज आचार्यले संक्रमणकालीन अवस्थामा पनि प्रधानमन्त्री भएका बेला गिरिजाप्रसाद कोइरालाले देशको आर्थिक विकासमा जोड दिएको स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, फाउन्डेसनका भक्तपुर अध्यक्ष विदुरमानसिंह बस्नेतले नेपाली राजनीतिमा स्व. गिरिजाप्रसाद कोइरालाको योगदानबारे चर्चा गरेका थिए ।


प्रकाशित मितिः आइतबार, पुस २७, ०७:०३