काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौँ कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् ।

वरिष्ठ नेता पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल आज बिहीबार उद्घाटन गरेका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।

तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।


२०७३ साल वैशाखमा निमाणको सम्झौता भएको पुलको लागत २ करोड ५४ लाख रुपैयाँ रहेको थियो । व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल २०७५ कात्तिक ९ गते नै निर्माण सम्पन्न भएको थियो ।


प्रकाशित मितिः २०७७ साल मंसिर १८ गते बिहीबार, १७:०४