हेटौंडाः २१ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै आज सम्पन्न जिल्ला सभापतिको भेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट वितरणमा आफुबाट गल्ती भएको स्विकार गरेका छन् ।

स्थानीय तहदेखि प्रतिनिधि तहसम्म तीनै चुनाव सकिएको करिब एक वर्षपछि नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको समापन समारोहमा बोल्दै सभापति देउवाले टिकट वितरणमा गल्ती भएको स्विकारेका हुन् ।

यसअघि भएका बिभिन्न पार्टी स्तरका कार्यक्रमहरुमा हारको जिम्मेवारी व्यक्तिगतरुपमा आफूले मात्र नलिएर सिङ्गो केन्द्रीय समितिलाई नै हारको जिम्मेवारी लिन लगाउने देउवाले जिल्ला सभापतिको भेलामा भने आफुबाट भएको गल्ती स्विकार गरेका हुन् ।


देउवाले उनले टिकट वितरणमा गम्भीर गल्ती भएको, जित्ने नेतालाई टिकट दिन नसकिएकोमा कमजोरी स्वीकार गरेका छन् । उनले अब आउने दिनमा कमी कमजोरी हुन नदिनेतर्फ आफूले ध्यान दिने समेत बताए ।

साथै सबैलाई समेटेर लिएर जाने र पार्टीलाई पाँच वर्षपछि एक नम्बरको पार्टी बनाउन पार्टीको सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गर्ने उनले बताए ।