कांग्रेसको मुलुकव्यापी पराजयलाई लिएर अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । एकथरीले कांग्रेस सखाप भयो भन्दै चिन्ता पनि गर्न थालेका छन् भने अर्काथरीले यसलाई चुनावी अंकगणितको स्वभाविक परिणामको रुपमा लिएका छन् । ‘सबै वाम एक ठाम’ भएपछि यो परिणाम अस्वभाविक तथा आश्चर्यजनक थिएन । चुनावी चलखेलको सामान्य अंकगणित बुझ्‍नेहरुका लागि यो संभावित र अपेक्षित नतिजा हो ।अघिल्ला चुनावमा पनि नेपालमा उपलब्ध सबै खाले कम्युनिस्टहरुको मत जोड्दा बलियो बहुमत पुग्थ्यो।

कांग्रेसबाट भयानक भूलहरु भएका छन्, सच्चाउनुपर्ने थुप्रै पक्षहरु छन् । अब त्यसको समीक्षा र करेक्शन होला । तर कांग्रेस सबैभन्दा खत्तम वा खराब पार्टी भएर यो नतिजा आएको होइन।


। मतदाताले कांग्रेसलाई हराएका होइनन्। कम्युनिस्टहरु एकजुट भएर कांग्रेसलाई पराजित गरेको अवस्था हो । अघिल्ला निर्वाचनमा भन्दा यसपटक कांग्रेसले पाएको कुल मत घटेको छैन र कतिपय ठाउँमा बढेको पनि छ। समानुपातिकतर्फको नतिजाले पनि त्यसलाई पुष्टि गरेको छ। केही स्थानलाई छोडेर कांग्रेसका उम्मेदवारले हजारदेखि तीन चार हजारको मतान्तरले पराजित भएका छन् । जुन माओवादीको मत हो ।

विष्णु सुवेदी

तरिका मिलेन, ढंग पनि पुगेन होला तर कांग्रेस यसपटक सबै कम्युनिस्टहरुसँग एक्लै मैदानमा भिड्यो । यो नै आफैमा महत्वपूर्ण पक्ष हो । मतदाताले सच्चिन र बलियो बन्‍न कांग्रेसलाई अवसर प्रदान गरेका छन् । स्वभाविक रुपमा कांग्रेसका पात्र र प्रवृत्तिप्रति मतदाताको गुनासो तथा वितृष्णा हुनसक्छ । तर एउटा भरपर्दो प्रजातान्‍त्रिक संस्थाका रुपमा कांग्रेसप्रति मतदाताले देखाएको माया र भरोसाको हिस्सा कमजोर छैन। केही पात्रहरु खत्तम भए पनि कांग्रेस खराब छैन भन्‍ने सन्देश मतदाताले दिएका छन्। यसबाट कांग्रेसले शिक्षा लिएर आफूलाई पुर्नजागृत र पुनसंरचना गर्दै आफ्नो भूमिका र छविलाई सच्चाउन आवश्यक छ। यो बाटोमा कांग्रेस अघि बढे उसको भविष्य टाढा छैन । कांग्रेसको नीति र नेतृत्वमा लागेको खियाँ सफा गर्न अब युवा पुस्ता अग्रसर हुनुपर्छ।

कांग्रेसको पराजयसँग जोडिएका केही पृष्ठभूमि र पक्षहरुलाई यहाँ केलाउन खोजिएको छ।

कांग्रेस रमाउने, कम्युनिस्टहरु खेल्ने

कांग्रेसले वामहरुसँगको सम्बन्धलाई सही रुपमा बुझ्‍न र उपयोग गर्न नसक्दाको परिणाम पनि हो अहिलेको अवस्था । कम्युनिस्टहरुले कांग्रेससँगको सहकार्य र सम्बन्धमा रणनीतिक रुपमा खेलिरहे तर कांग्रेस भने वामहरुसँगको सम्बन्धमा सधै रमाइमात्र रह्‍यो ।

दोस्रो संविधानसभा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले एमालेसँग मिलेर सरकार बनायो । सुशील कोइरालाको नेतृत्वमा १८ महिना राम्रोसँग गठबन्धन सरकार चल्यो, त्यही गठबन्धनबाटै संविधान पनि संभव भयो । त्यतिबेला माओवादी केन्द्र साइजमा थियो, उसमा ठूलो महत्वकांक्षा थिएन । तर संविधान जारी भएपछि एमालेसँगको सहकार्य कांग्रेसले तोड्यो ।
यसमा कुनै तर्क, कारण र मुद्दा थिएन । यो नै कांग्रेसको ठूलो भूल थियो । त्यसपछि राजनीतिमा सत्ता केन्द्रित अस्थिरताको नयाँ शृंखला सुरु भयो। राजनीतिका चतुर खेलाडी प्रचण्ड त्यहींबाट ‘मुभ’ गर्न थाले। एमाले र कांग्रेससँगको सम्बन्धमा रणनीतिक रुपमा चल्न र खेल्नका लागि प्रचण्डलाई अनुकुल आधारभूमि यही घटनाक्रमले सिर्जना गरिदियो ।

कांग्रेसलाई बाहेक गरेर केपी ओली नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने डिजाइन प्रचण्डले तयार गरे । वर्षदिन पनि नपुग्दै एमालेसँग रातारात सम्बन्ध तोडेर प्रचण्ड फेरि कांग्रेससँग जोडिए । प्रचण्डको यो मुभ अत्यन्त अस्वभाविक थियो, सत्ताको स्वार्थ र सनक बाहेक केही थिएन । ओलीसँग ‘रातारात डिभोर्स’ गरेर भागेका प्रचण्डलाई ‘रेड कार्पेट’ विछ्याउनु कांग्रेसको गल्ती थियो, जुन सत्यलाई पछिल्ला घटनाक्रमले पुष्टि गरिसकेको छ। माओवादीको रणनीतिक चाल र सत्ता केन्द्रित राजनीतिलाई राम्रोसँग विश्लेषण नगरीकन कांग्रेसले एमालेविरुद्ध नयाँ गठबन्धन तयार गर्‍यो र प्रचण्डलाई प्रधानमन्त्री बनाइदियो ।

स्थानीय चुनावमा कांग्रेसले माओवादीसँग तालमेल गर्ने भन्यो । त्यसमा सघन गृहकार्य तथा छलफल भएन । कुनै मापदण्ड र मर्यादा तय गरिएन । चुनावी गठबन्धनको मोडालिटी बनाइएन । हचुवाका भरमा मनोमानी रुपमा यसलाई व्याख्या र प्रयोग गरियो । माओवादीले प्रचण्डपुत्री रेणुलाई चितवन महानगरको मेयरमा जितायो, अन्य ठाउँमा पनि लाभ लियो । तर कांग्रेसलाई कतै पनि फाइदा भएन । उल्टै माओवादीसँग अप्राकृतिक गठबन्धन गरेर आफ्नो लोकतान्त्रिक छवि धमिल्याएको र कार्यकर्ताको मनोबल कमजोर बनाएको आरोप कांग्रेसले खेप्‍नुपर्‍यो ।

संसद् तथा प्रदेशको चुनावको मुखमा माओवादी सरकार नछोडिकन सुटुक्क एमालेसँग चुनावी गठबन्धन गर्‍यो । प्रचण्डको यो संभावित ‘मुभ’बारे कांग्रेसको इन्टेलीजेन्सले अनुमान पनि लगाउन सकेन । राजनीतिमा अस्थिर चाल चल्ने चतुर प्रचण्डबाट कुनै पनि बेला धोखा र बेइमानी हुनसक्ने विश्लेषण गरेर त्यो अनुरुप आफूलाई तयार गर्ने र रणनीति बनाउने काममा कांग्रेस चुक्यो ।

माओवादीलाई शान्ति प्रक्रियामा सहभागी गराएर सम्मानजनक राजनीतिक हैसियत प्रदान गर्नमा कांग्रेसले निर्णायक भूमिका खेल्यो । जतिबेला केपी शर्मा ओली राजनीतिको ‘कोर सिन’ मा थिएनन्, रिङबाहिर नै थिए । तर आज उनै केपी ओलीले माओवादीलाई उपयोग गरेर राजनीतिमा हिरो बन्दैछन् भने कांग्रेसलाई चुनावी अंकगणितमा जिरो बनाउने प्रयत्न हुँदैछ ।

हचुवा आँकलन र नाम मात्रैको गठबन्धन

कांग्रेस मुलुककै सबैभन्दा जेठो राजनीतिक शक्ति हो । यसको आफ्नै व्यापक सञ्जाल र संगठन छ । साधनस्रोतको कमी छैन । तर एउटा व्यवस्थित पार्टीभित्र सूचना (इन्टेलिजेन्स) र विश्लेषणको पक्ष निकै कमजोर देखियो । घटना भएपछि अत्तालिएर प्रतिक्रिया जनाउने भन्दा पहिले नै क्षति रोक्ने वा कम गर्ने सावधानी र रणनीति कांग्रेसभित्र देखिएन । माओवादीले गठबन्धन गर्दाको चुनावी अंकगणितमा कांग्रेसको हचुवापूर्ण आँकलन गरेको पाइयो । सूचना र तथ्यको विश्लेषण गरेर चुनावी योजना तथा रणनीति बनाउनेभन्दा पनि ‘कांग्रेसले बहुमत ल्याउँछ, कम्युनिस्ट फुट्छन्’ भन्ने भ्रममा कार्यकर्तादेखि नेतृत्व तह पनि रमायो ।

वाम गठबन्धनपछि कांग्रेसले निकै हतारिए लोकतान्त्रिक गठबन्धन बनाउन हारगुहार गर्‍यो । त्यसका लागि गम्भीर गृहकार्य र सघन छलफल भएन । कांग्रेस स्वयमबाट इमान्दर प्रयत्‍न भएन । मधेसी दलहरुसँग गठबन्धन पनि अधुरो भयो । नेता विशेषको व्यक्तिगत हठ र स्वार्थका कारण मधेसी दलहरुसँगको गठबन्धन प्रभावकारी भएन । धनुषा ३ मा कांग्रेसका नेता विमलेन्द्र निधिले राजेन्द्र महतोलाई छोड्न तयार भएनन, त्यसको परिणाम निधि स्वयमले मात्र हार्नुपरेन, अन्य क्षेत्रमा त्यसको नकारात्मक असर देखियो ।

राप्रपासँगको गठबन्धनमा पनि त्यही हालतबाट गुज्रियो । झापा ३ मा कृष्णप्रसाद सिटौलाले राप्रपाका राजेन्द्र लिङदेनलाई छोड्न तयार भएनन्, त्यसको नकारात्मक असर तालमेल भएका अन्य क्षेत्रमा पनि पर्‍यो । सिटौलाले त हारे नै, अन्य क्षेत्रमा राप्रपाको सहयोगले जित्ने संभावना पनि भत्कियो । कांग्रेसले बनाएको गठबन्धन हतारको प्रतिक्रियामा मात्रै सिमित भयो, त्यसले केही नतिजा निकाल्न सकेन । चुनावी मैदानमा बाम गठबन्धनलाई संगठित रुपमा काउन्टर दिन पनि यो गठबन्धन समर्थ भएन।

विरासतको भ्रम र कमजोर ब्रान्ड

कांग्रेस प्रजातन्त्रका लागि २००७ सालदेखि निरन्तर लडेको पुरानो शक्ति हो । २००७ को जनक्रान्ति, २०४६ सालको जनआन्दोलन २०६३ को महत्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व यहीं पार्टीले गरेको छ । नयाँ संविधानको लेखन, शान्ति प्रक्रिया, संविधानको कार्यान्वयन गर्ने जस्ता निकै महत्वपूर्ण कार्यभार कांग्रेसकै अगुवाइमा सम्पन्‍न भएका छन् । यी सबै योगदान, पृष्ठभूमि र गौरवमय विरासत हुँदाहुँदा पनि कांग्रेसलाई मतदाताले किन जिताएनन् भन्ने प्रश्न महत्वपूर्ण छ । विरासतको भ्रममा रमाउनुभन्दा ब्रान्ड बलियो बनाउनेतर्फ लाग्‍नुपर्ने शिक्षा पनि यो चुनावी नतिजाले दिएको छ। इतिहासको विरासत भन्दा पनि नयाँ पुस्ताले कांग्रेसमा ‘ब्रान्ड’ खोजिरहेको छ। त्यो कांग्रेसले विकास गर्न सकेन।

पछिल्लो समय कांग्रेस आफ्नो वैचारिक धारमा धरमराएको आरोप लाग्न थालेको छ । अरुको एजेन्डा बोकेर आफ्नो मौलिक चरित्र र छवि गुमाउँदै गएको चिन्ता कांग्रेसका शुभचिन्तकबाट व्यक्त हुँदै आएको छ ।गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता कांग्रेसका मौलिक एजेन्डा थिएनन् माओवादीले उठाएका यी एजेन्डामा समयको बेगसँगै कांग्रेस पनि लतारिएको अवस्था थियो । तर यी एजेन्डाहरुलाई तार्किक निश्कर्षमा पुर्‍याउन कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्‍यो । यसमा जस कांग्रेसले लिन सकेन। कांग्रेस एजेन्डाबिहिन जस्तो देखियो । यो अवस्थाको अन्त्य गरेर कांग्रेसले आफ्नो वैचारिक लाइनलाई स्पष्ट गर्नुपर्छ। पाइलैपिच्छे असन्तुलन तथा विचलन देखिनुहुँदैन ।

व्यक्तिवादी प्रवृत्ति र स्वार्थ केन्द्रित राजनीति

कांग्रेसले अहिले बेहोर्नुपरेको पराजयका पछाडि प्रजातान्त्रिक आन्दोलनको इतिहासको विरासतको भ्रम र व्यक्तिवादी प्रवृत्ति पनि जिम्मेवार छ । सातसालदेखि प्रजातन्त्रका लागि लडेको कांग्रेसले हार्दैन भन्ने भ्रमबाट कांग्रेस निर्देशित देखियो । अहिलेको नयाँ पुस्ता सामु कांग्रेसलाई परिचित गराउने प्रभावकारी प्रयत्न भएन ।

पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा कांग्रेसको संस्थागत भूमिका र हैसियत कमजोर हुँदै गएको अनुभव कांग्रेसीजनले गर्न थालेका छन् । राष्ट्रिय मुद्दामा कांग्रेसको प्रस्तुति, बहस तथा अडान त्यति प्रभावकारी हुन सकेन। कांग्रेसमा एउटा संस्थाका रुपमा पद्धति जसरी बलियो हुनुपर्थ्‍यो, पछिल्ला दिनमा त्यो कमजोर हुँदै गयो । व्यक्तिवादी प्रवृत्ति र स्वार्थ केन्द्रित राजनीति हावी हुँदै गयो । संस्थागत निर्णय र संगठित दृष्टिकोणभन्दा केही वरिष्ठहरुको निजी प्राथमिकता र तजबिजमा कांग्रेस चल्यो । तदर्थवाद हावी हुँदै गयो, संस्थागत संरचनाहरु प्रभावीकारी भएनन् अर्थात तीनलाई काम गर्न दिइएन।

कोइराला परिवारको लामो विरासतलाई ब्रेक गरेर कांग्रेसको नेतृत्व समाल्दा शेरबहादुर देउवासँग जुन खालको आकर्षण र अपेक्षा थियो, त्यो अनुरुप राष्ट्रिय राजनीतिमा उनको भूमिका प्रभावकारी देखिएन । देउवाले कांग्रेसको बगाडोर समालेपछि उनको प्राथमिकतामा पार्टीको संस्थागत विकास र संगठन सुदृढीकरण पर्न सकेन। कांग्रेस टेकुमा होइन, बुढानिलकण्ठतिरै बढी अल्झिन थालेको गुनासो आम कार्यकर्ताबाट आउन थाल्यो। देउवाको प्राथमिकता र सक्रियता पार्टी सुदृढीकरणमा भन्दा पनि सत्तातिर बढी केन्द्रित भयो।

मैदानमा कमजोर प्रस्तुति

चुनावी मैदानमा बाम उम्मेदवाहरु जति संगठित र आक्रमण रुपमा प्रस्तुत भए, कांग्रेस त्यसरी प्रस्तुत हुन सकेन । कांग्रेस बढी रक्षात्मक भूमिकामा उभियो, त्यो पनि आलोचनामा केन्द्रित भए । कम्युनिस्टहरु जितेमा साम्यवाद आउँछ, केही गर्न पाइँदैनजस्ता सस्ता भाषण र नारामा कांग्रेसीजनहरु रमाए । संविधान बनाउने, शान्ति प्रक्रियालाई पूर्णता दिने, संविधानलाई कार्यान्वयन गर्नेजस्ता महत्वपूर्ण काम कंग्रेसले गर्‍यो तर संस्थागत रुपमा यसलाई चुनावी मैदानमा कांग्रेसले क्यास गर्न सकेन ।
मुलुकको समृद्धि र स्थिरताका लागि कांग्रेसले स्पष्ट दृष्टिकोण, ठोस् नीति तथा कार्यक्रम चुनावी मैदानमा पस्किन सकेन । कांग्रेसको प्रभुत्व जोगाउने र विस्तार गर्नेभन्दा पनि वामहरुको प्रभावलाई छेक्ने सतही अभियानमा कांग्रेसले बढी समय खर्चियो । कांग्रेसले आफूसँग भएका कार्यकर्ता तथा सुभचिन्तकहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न सकेन ।

स्थानीय चुनावामा प्राप्त कमजोर नतिजाको गम्भीर समीक्षा र विश्लेषण गरेर त्यहीअनुसारको रणनीति तर्जुमा तथा चुनावी तयारीमा कांग्रेस उदासिन देखियो । टिकटमा नयाँ अनुहारलाई प्राथमिकता दिइएन । साठी कटेका वा हाराहारीका पुरानै अनुहारहरु हावी भए । टिकट वितरण वैज्ञानिक तथा पारदर्शी भएन । स्थानीय छनोट र लोकप्रियतालाई भन्दा पनि विरासत र ज्येष्ठतालाई महत्व दिइयो ।

कतिसम्म भने राष्ट्रिय महत्वका आकर्षक अवसरलाई समेत त्यागेर चुनावी मैदानमा हामफाल्ने प्रवृत्ति देखियो । जस्तो राष्ट्रिय पुनरनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी पद निकै महत्वपूर्ण थियो, त्यो छाडेर गोविन्द पोखरेल चुनाव लड्न प्यूठान हानिए तर हारे । राजदूत पद छाडेर दीपकुमार उपाध्याय चुनाव लड्न दिल्लीबाट काठमाडौंमा टिकट लिन आए र थोरै मतान्तरले हार बेहोर्नुपर्‍यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पत्नीलाई कैलाली ७ नम्बरमा उठाउनु कति आवश्यक थियो, त्यो विषयमा अहिले बहस भइरहेको छ । यसमा देउवाले आरोप र अपजस खेप्नुपर्ने अवस्था छ । केही बरिष्ठ नेताहरुको जिद्दीका कारण लोकतान्त्रिक गठबन्धन धरापमा पर्‍यो । लोकतान्त्रिक गठबन्धनमा पार्टीको हितभन्दा केही नेताहरुको नितान्त निजी हठ र स्वार्थ हावी भयो ।

देउवाको सत्तारोहणको थोरै लाभ कांग्रेसले न स्थानीय चुनावमा बटुल्न पायो न त संसद् र प्रदेशको चुनावमा । सत्ताको अंकगणितमा देउवा सफल देखिए पनि राष्ट्रिय राजनीति र आम मतदाताको नजरमा कांग्रेसको भूमिका र छवि त्यति सकारात्मक हुन सकेन। चुनावी नतिजाले यसलाई पुष्टि गरिसकेको छ।

कांग्रेस चुकेका राष्ट्रिय चासोका प्रकरणहरु

राष्ट्रिय चासो र चर्चाका केही प्रकरणमा कांग्रेसले आफ्नो पोजिसन स्पष्ट गर्न सकेन र संस्थागत अडान र परिपक्क भूमिका देखिएन। ती प्रकरणमा कांग्रेस चुक्नुपरेको सत्यलाई चुनावी नतिजाले पनि संकेत गरेको छ। कांग्रेसको आडमा प्रधानमन्त्री बनेका प्रचण्डले एमालेसँग मिलेर लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग ल्याए। यसमा कांग्रेसको दृष्टिकोण र भूमिका स्पष्ट देखिएन। कांग्रेस मौन र रहस्यमय भूमिकामा उभियो।

नेपाल प्रहरीको आइजीपी नियुक्ति प्रकरणमा सिंगो कांग्रेसले अपजस खेप्‍नुपर्‍यो। देउवाले अडान लिन खोजे तर गृहमन्‍त्री रहेका पार्टीकै वरिष्ठ नेता विपरित लाइनमा देखिए। संस्थागत अडान र परिपक्क गृहकार्य नहुँदा प्रहरी संगठनमा हस्तक्षेप गर्न खोजेको आरोप मात्रै खेप्‍नुपर्‍यो। राजदूत प्रकरणमा पनि देउवाको भूमिका विवादित बन्यो । अस्वभाविक र अपरिचित पात्रहरु डिलका आधारमा राजदूतमा सिफारिस भए पछि पार्टीभित्रै हंगमा भयो र बाहिर पनि आलोचना भयो । यी दुवै घटनाक्रमले कांग्रेसको छविमा पनि धक्का लाग्यो ।

प्रधानन्यायाधीश विरुद्ध महाअभियोग ल्याउनु ठीक कि बेठीक भन्ने बहस आफ्नो ठाउँमा हुनसक्छ तर माओवादी केन्द्रसँग मिलेर रातारात ल्याइएको महाअभियोगबाट कांग्रेसले बढी अपजस र आरोप खेप्‍नुपर्‍यो । महाअभियोगमा अडिने अवस्था भएन र अन्ततः यो फिर्ता भयो । महाअभियोग एउटा भूल थियो भनेर ढिलो स्वीकार्नुपर्‍यो । यसलाई भजाएर विपक्षीले कांग्रेस स्वतन्त्र न्यायालयको पक्षमा छैन भन्ने सन्देश पनि चुनावी मैदानमा ‘इन्जेक्ट’गर्न खोज्यो ।

छिमेकीसँगको सम्बन्ध र कुटनीतिक सन्तुलनमा कांग्रेसले देखाएको संवेदनशिलता र सतर्कता आफ्नो ठाउँमा ठीक होला तर मास सेन्टीमेन्टलाई उपेक्षा गर्दा त्यसको परिणाम थप पीडादायक हुन्छ भन्ने सन्देश यसपटक मतदाताले दिन खोजेका छन् । पाँच महिना लामो नाकाबन्दीलाई नाकाबन्दी भन्न नसकेको आक्षेप खेपिसकेको कांग्रेसका लागि ‘भारतपरस्तको ट्याग’ सदाबहार आरोप हो ।

मधेसी दलहरुलाई सडकबाट संसद्मा ल्याउने महत्वपूर्ण काम कांग्रेसले गर्‍यो र मधेसलाई सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव पनि अघि बढायो । तर कांग्रेसको यो पहल र सदासयतालाई मधेसी दलहरुले सम्मान गर्न सकेनन् ।पटकपटक चुनावको मिति सारेर पहल गर्दा पनि कांग्रेस राजपा ९राष्ट्रिय जनता पार्टी० लाई चुनावमा सामेल गराउन सफल हुन सकेन । दुई नम्बर प्रदेशलाई अलग गरेर चुनाव गर्नुपर्ने अवस्था उत्पन्न भयो । यसमा कांग्रेसले उल्टो अपजस बेहोर्नुपर्‍यो । कांग्रेसले न मधेसलाई विश्वासमा लिन सक्यो न त तोकिएको मितिमा सबै प्रदेशमा एकैपटक चुनाव गराउन सक्यो । एमालेले राष्ट्रवादी ट्यागलाई ुप्रोजेक्टु गरेर मतदातालाई तरंगित गरेको यसलाई पनि क्यास गरेर चुनावी मैदानमा राम्रो फाइदा उठायो ।

पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताविरुद्ध जनसागर सडकमा उर्लियो र महिनौं आन्दोलन भयो तर त्यसलाई कांग्रेसले संस्थागत रुपमा खासै वास्ता गरेन । बरु यसलाई एमालेले राम्रोसँग क्यास गर्‍यो, पाँच नम्बरमा कांग्रेसले यसपटक धेरै गुमाउनुपर्‍यो।