काठमाडौं: राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुत राजमार्गको खोकनास्थित स्थानीय जनताको मुआब्जासम्बन्धी विवाद नसुल्झेपछि सेनाले तेस्रो विकल्पका रुपमा यसअघि प्रस्तावित प्रस्थानविन्दु फेरिने संकेत देखिएको छ । स्थानीयवासीबाट सम्बोधन नै गर्न नसकिने मुआब्जा माग, तीव्र राजनीतीकरण र पुरातात्विक सम्पदाका कारण प्रस्थानविन्दुबारे लामो विवाद भएपछि तेस्रो विकल्पमा सहमति भएको हो ।

एशियाली विकास बैंकले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा राजमार्गका लागि रेखांकन गरिएको क्षेत्रमा सिकाली मन्दिर र कुदेशजस्ता पुरातात्विक सम्पदा परेपछि स्थानीय जनताबाट विरोध भएको थियो ।


। विरोधपछि दोस्रो विकल्पका रुपमा नेपाली सेनाले सिकाली र कुदेश क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा राजमार्गका लागि पुनःरेखाङ्कन गरी मन्दिर र कुदेशलाई संरक्षण गर्ने विकल्प प्रस्तुत गरे पनि मुआब्जा विवाद भने कायमै थियो ।

स्थानीय जनताको मुआब्जासम्बन्धी विवाद नसुल्झेपछि सेनाले तेस्रो विकल्पका रुपमा खोकनाबाट झण्डै पाँच किमी दक्षिणपूर्व बुङ्मतीको फर्सीडोलमा प्रस्थानविन्दुको अध्ययन गर्यो । त्यहाँ द्रुतमार्गको ‘जिरो’ विन्दु बनाउन स्थानीय जनता, जनप्रतिनिधि र आयोजना कार्यान्वयनको जिम्मेवारीमा रहेको नेपाली सेनाबीच प्रारम्भिक सहमति भएको छ । सरकारले भने त्यसलाई अनुमोदन गर्न बाँकी छ ।  फर्सीडोलमा प्रस्थानविन्दु बनाउँदा बस्तीहरु कम पर्ने र राजमार्गको लम्बाइसमेत छोटो हुने देखिएको छ ।

सरकारले गत साउनमा मुलुकको आर्थिक विकासका लागि मेरुदण्डका रुपमा हेरिएको ७६ किमीको द्रुत राजमार्ग चार वर्षभित्र पूरा गर्ने गरी नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो । उक्त राजमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउन बाँकी रहे पनि करीब रु एक खर्ब १६ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलले खोकना र बुङ्मती क्षेत्रको आज स्थलगत भ्रमण गरी जनतासँग छलफल गरेर द्रुतमार्ग प्रस्थानविन्दु र रेखाङ्कनबारे प्रतिनिधिमूलक सुझाव दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मुआब्जाबारे न्यायोचित भनाइ सुन्नुपर्छ, अन्याय नै पारेर जनता विस्थापित हुने अवस्था आएमा राज्यले सोच्नुपर्छ, विकास निर्माणको काममा नरम भई सहयोग गरिदिन आग्रह गर्दछु । सेनाले द्रुतमार्ग निर्माणमा तत्परताका साथ काम गरेको छ ।”

सो अवसरमा केही खोकनावासीले भने औचित्यपूर्ण मुआब्जाको मागलाई सम्बोधन गर्न तथा अधिकांशले मुआब्जा लिएकाले द्रुतमार्गको रेखाङ्कन नफेर्न आग्रह गरे ।

आयोजना प्रमुख उपरथी योगेन्द्र खाँडले खोकनामा दु्रतमार्गको अतिरिक्त बाहिरी चक्रपथ, १३२ केभी प्रसारण लाइनजस्ता आयोजनाले आफूहरु प्रभावित र विस्थापित हुन्छौँ भन्ने स्थानीय जनताको भनाइका कारण विकल्प खोज्ने क्रममा फर्सीडोलको सम्भाव्य अध्ययन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाहिरी र भित्री चक्रपथबीचमा नै द्रुतमार्गका प्रस्थान विन्दु रहँदा राम्रो हो तर जेमा निर्णय भए पनि यथाशीघ्र निर्णय होस्, त्यसो भएमा हामीलाई काम गर्न सहज हुन्छ ।”
फर्सीडोलमा बाहिरी चक्रपथसँग जोडिने गरी दु्रतमार्गको निर्माणपछि १४ मिटर चौडाइका चार चार किमीका सम्पर्क सडक निर्माण गर्नुपर्ने आवश्यकता देखिएको नेत्री भुसाल बताउनुहुन्छ ।