लामो समयदेखी उपत्यकाबासीले ट्राफिक समस्या झेल्दै आएका छन् । बढ्दो शहरीकरण र सवारीसाधनको चाप दिनप्रति दिन बढ्दै जाँदा उपत्यकाको ट्राफिक व्यवस्थापन एक चुनौती भएको हो । सडकका जीर्ण पूर्वाधार, अव्यवस्थित पार्किंग, फुटपाथको अधिक्रमण, ट्राफिक नियम र सडक सुरक्षाबारे सचेतनात्मक कार्यक्रमको कमि र विशिस्ट व्यक्तिको सवारीको समयमा हुने ट्राफिक जाम जस्ता विभिन्न समस्याले उपत्यकामा ट्राफिक व्यवस्थापनलाई कठिन बनाएको छ । यस्तै सर्वसाधारणबाट जथाभावी बाटो काट्ने र सवारीसाधनको अधिकतम् गतिले उपत्यकामा दुर्घटना बढ्दै गएको छ ।

यस्ता चुनौती तथा समस्यालाई व्यवस्थापन गर्न ट्राफिक व्यवस्थापनमा लामो अनुभव र प्रहरी व्यावसायिकताको पहिचान बनाएका विज्ञान तथा प्रविधिको तालमेल र सबै निकाय सँग समन्वय गर्न सक्ने व्यक्ति वरिष्ठ प्रहरी उपरिक्षक बसन्त पन्तलाई उपत्यका ट्राफिक महाशाखाको प्रमुखको रुपमा सरकारले जिम्मेवारी दिएको छ ।


। ट्राफिक व्यवस्थापनका चुनौती र भावी कार्य योजनाबारे नेपालताराका केबी. साउद र प्रहरी बरिष्ठ उपरिक्षक बसन्त पन्त  बीच भएको संवाद ।

तपाईंले भर्खर मात्र ट्राफिक महासाखाको प्रमुखको जिम्मेवारी समाल्नु भएको छ। काठमाडौंको ट्राफिक व्यवस्थापनका समस्या र चुनौतिहरु  के के देख्नुभएको छ ?

काठमाडौं उपत्यकामा अहिले ११ लाख भन्दा बढिको संख्यामा सवारी साधन दर्ता भएका छन्  भने ७७ जिल्लाबाट आएका  करिब ४० लाख मानिसहरु बसोबास गर्दै आएका छन् । राणाकालमा बग्गी हिड्न बनेका सडकलाइ बिस्तार गरेर सवारी गुड्ने  बनाएका कारण उपत्यकामा भौतिक पुर्वाधारको कमि  छ । यस कारण सवारी साधन एक ठाउँबाट अर्को ठाउँमा जान, ट्राफिक व्यवस्थापन अपेक्षा गरे जस्तो चुस्त दुरुस्त र व्यवस्थीत हुन सकेको छैन ।

बढ्दो शहरीकरण र सवारीसाधनको चाप , सडकका जीर्ण पूर्वाधार, अव्यवस्थित पार्किंग, फुटपाथको अधिक्रमण, ट्राफिक नियम र सडक सुरक्षाबारे सचेतनात्मक कार्यक्रमको कमि, विशिस्ट व्यक्तिको सवारीको समयमा हुने ट्राफिक जाम, सर्वसाधारणबाट जथाभावी बाटो काट्ने र सवारीसाधनको अधिकतम् गतिले उपत्यकामा दुर्घटना बढ्नु जस्ता चुनौतीहरु देखापरेका छन् ।
यी सवारीसाधनलाइ व्यवस्थित गर्न साढे १३ सय भन्दा बढी ट्राफिक प्रहरी बिहान देखि बेलुका सम्म उपत्यकामा खटिएका छन् । हाम्रा स्टेकहोल्डरहरु महानगर, सडग विभाग, यातायात व्यवस्था विभागसँग समन्वय गरी समन्वयात्मक किसीम र  वैज्ञानिक ढंगले भएका साधन स्रोतको प्रयोग गर्दै ट्राफिक व्यवस्थीत गर्न  अगाडी बढी रहेका छौं । पुर्वाधार निर्माणमा ट्राफिक प्रहरीको पहलमा ट्राफिक लाइट राख्न सडक विभाग सँगको सहकार्यमा लागि परेका छौ । महाराजगंज र बानेश्वरमा हाम्रो संगठन प्रमुखको पहलमा ट्राफिक लाइट राखिसकेका छौं । छिटै बाकिँ ९ ठाउँमा राख्न पहल भैरहेको छ जसले गर्दा हामिलाई व्यवस्थापनमा सहजहुनका साथै डिउटी आवरमा कमि हुनेछ ।
ट्राफिक व्यवस्थापनका लागि  ट्राफिक महासाखाले बेला बेला थुप्रै नयाँ कार्यक्रम सार्वजनिक गर्ने गरेको छ। ती कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यन्वयन हुन सकिरहेका छैनन् । कार्यान्वयन गर्न के गर्दै हुनुहन्छ ?
ट्राफिक महाशाखाबाट माननिय गृहमन्त्री ज्यूको ८१ बुँदे कार्ययोजना, संगठन प्रमुख ज्यूको १० बुँदे कार्ययोजनालाई कार्यान्वयन गर्ने क्रममा हामिले केहि कार्य योजना अगाडी बढाएका छौँ । ट्राफिक व्यवस्थापनलाइ चुस्त दुरुस्त र व्यवस्थित बनाउनका निमित्त हामिले अहिले ट्राफिकमा भएका समस्यालाइ पहिचान गरेर केहि कार्य सुरु गरेका छौँ । लेन अनुसासन, जो सबैभन्दा जटिल छ, प्राय चालकहरु ट्राफिक प्रहरी नभएको अवस्थामा आफुखुसी ट्राफिक नियम उलङघन गरी सवारी हाक्ने, जथाभावि चलाउने, लेप्ट ओभरटेक गर्ने, आफुखुसी पिक एण्ड ड्रप गर्नेदेखि सार्वजनिक सवारीले लामो समय सम्म सडकमा कुर्ने,  निशेधित क्षेत्रमा ठुलो आवाजमा हर्न बजाउने, यहासम्मकी लामो दुरीका सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रतिदिन एक सय भन्दा बढी चालकलाइ कानुन बमोजिम कारबाही गर्दै छौँ । प्रविधिको प्रयोगबाट लेन मिच्नेलाइ सवारी नम्बरका आधारमा चालकको घरबाटै ल्याएर कारवाहि गरिरहेका छौँ । प्रत्येक दिन दुइ सय चालक लेन मिचेर सवारी चलाएकोमा कारवाही गरीरहेका छौँ । जुन निरन्तर चलिरहेको छ ।
अबको युग विज्ञान र प्रविधिको युग हो  ट्राफिक व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग कसरी गर्दै हुनहन्छ?
अवश्यपनि अबको युगमा रोड सेफ्टी र दुर्घटना न्युनिकरणमा  सूचनना प्रविधीको ठुलो भुमिका छ । हामीले पुरानो सोचको ट्राफिक व्यबस्थाको अवधारणा लाई परिवर्तन गरिसकेका छौ । हामीसग भएको मानव संसाधन पुर्ण रुपमा बैज्ञानिक तरिकाले परिचालन गर्न सुरु गरिसकेका छौ । ट्राफिक इन्फर्मेसनका लागि मेट्रो ट्राफिक एफ.एम. रेडियो र १०३ नम्वरको प्रयोग, सवारी साधनहरुमा इम्बोस्ड नम्वर प्लेटको प्रयोगमा आइसकेको छ ।
ट्राफिक प्रहरी भएको स्थानमा चालकले नियम पालना  गर्न खोज्ने तर ट्राफिक प्रहरी उपस्थित नभएको ठाउँमा नियम उलङघन गर्ने प्रवृतिका चालकलाई निरुत्साहीत गर्न थप सिसी टिभीको जडान वृद्धि गर्ने, गोप्रो क्यामरा जसले ट्राफिक नियम उलङघन सवारीको रेकड समेत राख्दछ त्यसको व्यापक प्रयोग गर्ने । त्यस्तै सर्विलेन्स भेयिकललाई प्रभावकारी रुपमा परिचालन गरि त्यस्ता स्थानबाट ट्राफिक नियम उलंघन गरी सवारी चलाउनेलाई कारवाही गर्ने प्रकृयालाई थप सशक्त बनाउछौँ ।
जि.पि.एस.को प्रयोग, ट्राफिक सर्भिलन्सका लागि ड्रोनको प्रयोग त्यस्तै ट्राफिक डाइरेक्सन र ट्राफिक जाम बारे चालकहरु लाइ जानकारी दिने नेविगेशन एप WAZE जसलाइ स्मार्ट फोनहरुमा प्रयोग गर्न सकिन्छ । जस्ता प्रविधि हरु आउँदा दिनका लागि अपरिहार्य छन ।

कारवाहिका अलवा जनचेतनाका लागी के गर्दै हुनुहन्छ ?

 

ट्राफिक महाशाखाले  ट्राफिक व्यवस्थीत गर्न दुइ किसिम बाट अगाडी बढ्दै छ । एउटा आम सडक प्रयोगकर्तालाई ट्राफिक सम्बधी सचेतना मुलक कार्यक्रम दिने र अर्को भएका नियम कानुनलाई कडाइका साथ पालना गर्ने  र  गराउने । जनचेतनाका लागि प्याब्सन, एन प्याब्सन, हिसान लगाएत शैक्षिक संस्थाहरु सँग सहकार्य गरेर स्कुल कलेजका विद्यार्थीमाझ गएर ट्राफिक चेतना सम्बन्धी स्कुलिंग गर्ने  । समुदायमा गएर सामुदायीक स्वयं सेवक निर्माण गरि उँहाहरुलाइ ट्राफिक व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिने र नयाँ सवारी चालकलाई पनि प्रशिक्षण कार्यक्रम दिने गर्दै छौँ ।
सडकमा हुने अवरोध, अबैध पार्किङ, फुटपाथमा हुने अवरोध हटाउन महानगर सँगको सहकार्य कस्तो छ? 
सडकको फुटपाथ क्लियर गर्ने, छाडा गाइबस्तु हटाउने, पार्किङलाई व्यवस्थापन गर्न महानगर सँग सहकार्य गर्दै अगाडी बढीरहेका छौ । त्यस्तै  मार्किङ गर्न र फुटपाथ बनाउन सडक विभागसँग सहकार्य गर्दैछौ । यातायात व्यवस्था विभागले हामीलाई थप जरिवाना लिन अधिकार प्रत्यायोजित गरेको छ । उँहाहरु सँग पनि सहकार्य गरेर अगाडी बढीरहेका छौँ ।
जरीवाना के कति बृद्धि भएको छ ?
ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐन २०४९को दफा १६२मा दिइएका अधिकारहरु प्रयोग गरी ट्राफिक व्यवस्थित गर्दै आएको छ । त्यसमा पहिले दुइसय, पाँच सय, हजार सम्म थियो भने अहिले पाँच सय, हजार, पन्ध्रसय देखि  तिन हजार सम्म पनि जरिवाना गर्न सकिन्छ ।
सरकारले सीन्डीकेट अन्त्यको घोषणा गरिसकेको छ। यसको कार्यान्वयनका लागि के गर्दै हुनुहुन्छ ?
सीन्डीकेट अन्त्य भइसकेको छ ।  सरकारले दिएको निर्देशनलाई तदारुकताका साथ पालना गर्छौं । यदि सरकारको निर्देशनलाई कसैले नजरअन्दाज गर्छ भने उसलाई हामी प्रचलित कानुन बमोजिम कारवाही अगाडी बढाउछौँ ।
सार्वजनिक यातायातमा आरक्षण सिटको सम्बधित पक्षले नपाएको गुनासो सुनिन्छ नि ?
राज्यले सार्वजनिक सवारीमा आरक्षित गरेको सिटहरुका लागि अनुगमन गर्दै आएको छ  र विगतमा पनि  गरेका थियौ। अब पनि यसलाई  निरन्तरता दिन्छौं। जसका लागि सिट छुट्याइएको उहाँहरुले पाउनुपर्छ, त्यसलाइ लागु गराउन ट्राफिक प्रहरी तत्पर छ ।
सवारी साधनको आकार परिवर्तन गर्नेलाइ के कारवाही  गर्दै हुनुहुन्छ?
काठमाडौंमा ट्राफिकलाइ अलिकति समस्या रहेको भनेको दुइपाङग्रे सवारी नौ लाख भन्दा बढी छन् । यसलाई व्यवस्थित गर्नु पनि हाम्रो चुनौति छ। अहिले हामिले मोटरसाइकललाई मोडिफाइ गर्ने, हाइ स्पिडमा चलाउने, लेप्ट ओभरटेक गर्ने,मापासे गर्ने र जिकज्याक चलाउनेलाई केन्द्रित गरेर कारबाही प्रक्रिया अगाडी बढाएका छौँ । यसलाई हामी निरुत्साहित गर्छौं  र दूई पांग्रेलाई व्यवस्थित गर्ने कार्ययोजना बनाएर अगाडी बढ्छौ ।
योजना त विगतमा पनि नआएका हैनन। तपाइले पनि योजना सुनाउनु भयो, कार्यान्वयन गर्न के गर्दै हुनुहुन्छ ?
काठमाण्डौ उपत्यकामा अहिले जुन किसिमको ट्राफिक मुभमेन्ट छ यसलाई व्यवस्थित गर्ने हाम्रो योजना छ । अहिलेको ट्राफिकमा जुन प्रेसर छ त्यसलाई न्युनिकरण गर्न र सवारी दुर्घटना न्युनिकरण गर्न प्रयास गर्छौं ।  यसलाइ केन्द्रित गरेर हामी कडाइका साथ ट्राफिक प्रहरी परचिालन गर्छौं । प्रहरीको सहयोगमा ट्राफिक नियम पालना गराउछौँ । अहिले पनि ट्राफिक प्रहरीका बाहेक अरु प्रहरी देख्न सक्नु हुन्छ । त्यतिमात्र नभएर समुदाय, स्कुल, कलेज जस्ता सिक्षण संस्थामा गएर स्वयमसेवक तयार गर्छौं । उहाँहरुलाई पनि सडकमा ल्याउने गरि अगाडी बढछौँ । विगतका योजना र हामीले सुरवात गर्न लागेका कार्य योजनाहरुलाई आउँदा दिनमा आम नागरिकले अनुभूति गर्ने गरी कार्यान्वयन गर्छौं ।
टयाक्सी ड्राइभरले गर्ने ठगि नियन्त्रणका लागि योजना के छन?
प्रत्येक दिन तिन चार ओटा गुनासो आइरहन्छन् । टयाक्सी लगायत सार्वजनिक सवारी प्रयोग गर्ने र त्यसमा सामान छोडने, सवारी नम्वर थाहा नहुने चालकले दुर्व्यवहार गर्यो भनेर खबर गर्ने तर चालक बारे जानकारी नहुने व्यापक गुनासो आएपछि हामिले भित्र बस्ने यात्रुहरुले पनि देख्न सकोस भनेर अङग्रेजि र नेपाली दुबै माध्यममा नम्बर प्लेट राख्ने काम सुरु गरिसकेको छौँ । अहिलेसम्म चार हजार भन्दा बढी टयाक्सीले नबर प्लेट राखिसकेका छन् । यो अभियान सम्पुर्ण टयाक्सी चालक सम्म पुर्याउछौँ ।
सचेतनात्मक कार्यक्रम मार्फत स्पोट, स्पोटमा सम्पर्क गरेर यदि उहाँहरुलाई समय लाग्छ भने ट्राफिक प्रहरीले आफै दिने र आफै बनाउन आग्रह गरेका छौँ । यसले गर्दा टयाक्सी चालक वा सार्वजनिक चालाकहरुबाट यदि दुर्वव्यभार गर्ने अवस्था आयो भने तत्काल नियन्त्रण गर्न सहयोग पुग्नेछ ।  मालसमान छुट्ने अवस्थालाइ पनि ट्राफिक प्रहरीलाई अनुसन्धान गर्न सहज हुनेछ भन्ने उदेश्यले कार्ययोजनामा राखेर सुरु गरिसकेका छौँ ।
त्यस्तै बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्ने, प्रिन्ट दिन नचाहाने टयाक्सीलाई केन्द्रित गरेर हामिले अभियान सुरु गरिसकेका छौँ । अहिले प्रतिदिन पच्चीस देखि तिस वटा टयाक्सीहरु कारवाहीमा पर्दैछन।  सम्भवत यो प्रकृयाका साथ अगाडी बढाउँदा र कडाइका साथ जाँदा आफै निरुत्साहित हुनेछ भन्ने विश्वास लिएका छौँ।
अन्तमा आम नागरिकला के भन्न चाहानु हुन्छ ?
आम नागरिकलाई सडक प्रयोग गर्दा ट्राफिक नियमको पालना गर्नुहोस् । चालकहरुले पनि सडकमा सवारी साधन ल्याउनुहुन्छ भने सर्वप्रथम आफ्नो सवारी साधनको अवस्थालाइ ध्यान दिनुस् । सवारी साधन सडकमा ल्याउन ठिक छ वा छैन ध्यान दिनुस् । त्यसपछि सवारी चलाउँदा तपाईसँग हुनुपर्ने कागाजात साथमा राख्नुस् ।
जब सडकमा जानुहन्छ, ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नुस् । जस्तै सार्वजनिक यातायात जथाभावि नारोक्नुस, हर्न निषेध भएकाले हर्न नबजाउनुस् । जथाभावि पिक एण्ड ड्रप नगर्नुस्,  रोक्दा लेफ्ट साइडलाइटको प्रयोग गर्दै पछाडीका सवारीसाधनलाइ डिस्टर्ब नगरि राख्नुस। त्यस्तै सवारी साधन प्रयोेगकर्तालाइ पनि निश्चित तोकिएको ठाउँबाट मात्रै प्रयोग गर्नुस् ।
जहाँ मन लाग्यो त्यहीँ सवारी साधन प्रयोग नगर्नुस् । तपाई एक जनाको कारणले सम्पुर्ण सवारी साधनलाइ डिस्टर्ब हुने अवस्था रहन्छ, बिरामी समयमा हस्पिटल पुग्न नसक्ने अवस्था रहन सक्छ, अपाङग, बृद्धलाइ असर पर्न सक्छ । यसकारण सडक सवारी साधनको सहि सदुपयोग गर्नुस भनेर सबैलाइ आग्रह गर्न चाहान्छु ।