काठमाडौंः काठमाडौंको डल्लु आवास क्षेत्रबाट मास्कको कालोबजारी गर्ने ८ जनाको गिरोहलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौं डल्लु आवसमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट मास्क बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागर्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भु बस्ने निशान तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


उनीहरुको साथबाट ७८ हजार २५० वटा सर्जिकलम मास्क बरामद भएको छ । उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेकाहरुले गोदाममा रहेको मास्क बिचौलियालाई दिइ कालोबजरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुलाई कालोबजारी ऐनअन्र्तगत कारवाही गर्ने प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।


प्रकाशित मितिः आइतबार, चैत २, ०६:३६