काठमाडौंः मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपातपछि मुलुकभर चिसो बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्री सेल्सियस छ । त्यसैले आज बिहान अत्यधिक चिसो महसुस भएको छ । साढे ७ बजेको न्यूनतम तापक्रम भने बढेर २ डिग्री सेल्सियस पुगेको छ । बिहानपख जाडो भए पनि दिउँसोदेखि भने न्यानो हुने अनुमान मौसमविदले गरेका छन् ।

विभिन्न स्थानमा शुक्रबार र शनिबार वर्षा र हिमपात भएपछि मुलुकका अधिकांश स्थानको तापक्रम घटेको छ । तर आजबाट क्रमिकरूपमा मौसम खुल्दै जाने भएकाले अब तापक्रम बढ्दै जाने मौसमविद्को पूर्वानुमान छ ।


पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु भएको थियो । यो प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेको छ । त्यसैले अब मौसममा क्रमिक सुधार हुँदै जाने छ ।


प्रकाशित मितिः २०७७ साल माघ २५ गते आइतबार, ०८:५३