काठमाडौं:  काठमाडौंको बौद्धमा गोली चलेको छ । प्रहरीका अनुसार लुटेरा समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले नै गोली चलाउनु परेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीमाथि लुटेराले आक्रमण गर्न प्रयास गरेपछि जवाफी कारबाही गरेको हो।

प्रहरीको गोली लागेर अस्मिल तामाङ घाइते भएको र उनको खुट्टामा २ राउन्ड गोली लागेको प्रहरीले जनाएको छ ।  गोली लागेर घाइते भएका तामाङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

उनीविरुद्ध प्रहरीमा उजुरी पनि रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट एउटा कटुवाल पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । त्यस्तै, १२ सय अमेरिकी डलर र ८ बण्डल नोटको आकारको कागज समेत बरामद भएको महाशाखाले जनाएको छ ।


को हुन् घाइते तामाङ ?

तामाङ यस अगाडि पनि बिभिन्न अपराधमा संलग्न भएको कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । उनी कैद भुक्तान गरेर छुटेपनि पुनः पुरानै धन्दामा सक्रिय थिए ।

उनले जेठ २४ गते डलर साट्ने भन्दै बोलाएर एक व्यक्तिबाट १९ लाख ६० हजार रुपैयाँ लुटेका थिए ।

लामाले जेठ २८ गते काठमाडौंको कपनस्थित संयुक्त पार्कमा राजकुमार बाँनियाको साथबाट ४ लाख ९० हजार रुपैयाँ लुट्नुका साथै सुर्य बिनायकस्थित जंगलमा स्याङ्जाका राज भण्डारीको साथबाट उनले ८ लाख रुपैयाँ पनि लुटेका थिए ।