काठमाडौंः नेपालीहरुको महानपर्व दशैं सुरु भएसँगै घर फर्किनेको संख्या ह्वात्तै बढेको छ ।

दशैंका लागि आफ्नो व्यापार, व्यवसाय, रोजगार तथा पढाइ बन्द गरेर सबै जना आ–आफ्नो जिल्ला जान थालेका छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार आइतबार मात्रै काठमाडौंबाट १५ हजार १ सय ६५ वटा सवारी साधन बाहिरिएका छन् । यस्तै विभिन्न नाकाबाट १० हजार ९ सय ५७ सवारी साधन काठमाडौं भित्रिएको महाशाखाले जनाएको छ ।

आइतबार जगातीबाट सबैभन्दा बढी ८ हजार ४३ सवारी साधन बाहिरिएका छन् । त्यस्तै नागढुंगाबाट ६ हजार २ सय ४३, मुड्खु भञ्ज्याङ्बाट २ सय ३, फर्पिङबाट ६ सय ७८ गरी जम्मा १५ हजार १ सय ६५ सवारी बाहिरिएको महाशाखाले जनाएको छ ।


यसैगरी महाशाखाका अनुसार जगातीबाट ४ हजार ४ सय ६७, नागढुंगाबाट ५ हजार ७ सय ३६, मुड्खु भञ्ज्याङ्बाट २ सय ६, फर्पिङबाट ५ सय ४८ गरी जम्मा १० हजार ९ सय ५६ सवारी साधनहरु भित्रिएका छन् ।

महाशाखाका अनुसार दशैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट आइतबार सम्म १ लाख ५ हजार ८ सय ७५ सर्वसाधारणले टिकट बुकिङ गरेका छन् ।


प्रकाशित मितिः सोमबार, असोज १३, ०८:२२