काठमाडौंः दशैं नजिकिएसँगै राजधानी शहर काठमाडौंबाट आ–आफ्नो घर फर्किने क्रम जारी छ । त्यस्तै विभिन्न जिल्लामा गएकाहरु काठमाडौं भित्रिने क्रम पनि जारी रहेको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार मंगलबार मात्रै काठमाडौंबाट १८ हजार ७ सय ९४ वटा सवारी साधन बाहिरिएका छन् । यस्तै विभिन्न नाकाबाट १२ हजार ८ सय २३ सवारी साधन काठमाडौं भित्रिएको महाशाखाले जनाएको छ ।

मंगलबार जगातीबाट सबैभन्दा बढी १० हजार ५ सय १० सवारी साधन बाहिरिएका छन् । त्यस्तै नागढुंगाबाट ७ हजार ३ सय ८९, मुड्खु भञ्ज्याङ्बाट १ सय ९३, फर्पिङबाट ७ सय २ गरी जम्मा १८ हजार ७ सय ९४ सवारी बाहिरिएको महाशाखाले जनाएको छ ।


यसैगरी महाशाखाका अनुसार नागढुंगाबाट ६ हजार ५ सय १०, जगातीबाट ५ हजार ५ सय ४६, मुड्खु भञ्ज्याङ्बाट १ सय ९६, फर्पिङबाट ५ सय ७१ गरी जम्मा १२ हजार ८ सय २३ सवारी साधनहरु भित्रिएका छन् ।

महाशाखाका अनुसार दशैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट बुधबारसम्म १ लाख ३८ हजार ७ सय ६२ जना सर्वसाधारणले टिकट बुकिङ गरेका छन् ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०८:१३