काठमाडौंः दशैं नजिकिएसँगै राजधानी शहर काठमाडौंबाट आ–आफ्नो घर फर्किने क्रम जारी छ । त्यस्तै विभिन्न जिल्लामा गएकाहरु काठमाडौं भित्रिने क्रम पनि जारी रहेको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार मंगलबार मात्रै काठमाडौंबाट १७ हजार ६ सय १६ वटा सवारी साधन बाहिरिएका छन् । यस्तै विभिन्न नाकाबाट १३ हजार ४ सय १४ सवारी साधन काठमाडौं भित्रिएको महाशाखाले जनाएको छ ।

मंगलबार जगातीबाट सबैभन्दा बढी १० हजार ६९ सवारी साधन बाहिरिएका छन् । त्यस्तै नागढुंगाबाट ६ हजार ६ सय ७९, मुड्खु भञ्ज्याङ्बाट १ सय ७६, फर्पिङबाट ६ सय ९२ गरी जम्मा १७ हजार ६ सय १६ सवारी बाहिरिएको महाशाखाले जनाएको छ ।


यसैगरी महाशाखाका अनुसार जगातीबाट ६ हजार ५ सय ७१, नागढुंगाबाट ६ हजार ९५, मुड्खु भञ्ज्याङ्बाट १ सय ९७, फर्पिङबाट ५ सय ५१ गरी जम्मा १३ हजार ४ सय १४ सवारी साधनहरु भित्रिएका छन् ।

महाशाखाका अनुसार दशैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट आइतबार सम्म १ लाख २७ हजार ३ सय १४ जना सर्वसाधारणले टिकट बुकिङ गरेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा मंगलबार ४३ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने एक जना गम्भीर घाइते र ३५ जना सामान्य घाइते भएका छन् ।

 


प्रकाशित मितिः बुधबार, असोज १५, ०८:४५