काठमाडौंः दशैं नजिकिएसँगै राजधानी शहर काठमाडौंबाट आ–आफ्नो घर फर्किने क्रम जारी छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार सोमबार मात्रै काठमाडौंबाट १६ हजार २ सय २२ वटा सवारी साधन बाहिरिएका छन् । यस्तै विभिन्न नाकाबाट १२ हजार ६ सय २९ सवारी साधन काठमाडौं भित्रिएको महाशाखाले जनाएको छ ।

सोमबार जगातीबाट सबैभन्दा बढी ९ हजार ४ सय ३१ सवारी साधन बाहिरिएका छन् । त्यस्तै नागढुंगाबाट ५ हजार ८ सय ६०, मुड्खु भञ्ज्याङ्बाट २ सय १२, फर्पिङबाट ७ सय १९ गरी जम्मा १६ हजार २ सय २२ सवारी बाहिरिएको महाशाखाले जनाएको छ ।

यसैगरी महाशाखाका अनुसार जगातीबाट ६ हजार ४ सय ३५, नागढुंगाबाट ५ हजार ५ सय ५१, मुड्खु भञ्ज्याङ्बाट २ सय १०, फर्पिङबाट ५ सय ३३ गरी जम्मा १२ हजार ६ सय २९ सवारी साधनहरु भित्रिएका छन् ।


महाशाखाका अनुसार दशैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट आइतबार सम्म १ लाख १६ हजार ७ सय ९ जना सर्वसाधारणले टिकट बुकिङ गरेका छन् ।


प्रकाशित मितिः मंगलबार, असोज १४, ०८:०५