काठमाडौंः काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित थोक फलफुल व्यापार हुने स्थानमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर भई काठमाडौं कुलेश्वर बस्ने २५ वर्षीय रवि शंकर सिंह र बारा घर भई हाल कुलेश्वर बस्ने ४७ वर्षीय रमेश सिंह रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार के.सी.ले जानकारी दिएका छन् ।

आज दिउँसो महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६५ लाख ८ हजार रुपैयाँ सहित पक्राउ गरेको हो । रवि शंकरको साथबाट ६३ लाख रुपैयाँ र रमेशको साथबाट २ लाख ८ हजार रुपैयाँ बरामद भएको डिएसपी के.सी.ले बताए ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १९:२५