काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ८ सय १९ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बुधबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८३ जना, लेन उल्लंघन गर्ने २ सय ५९ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ४१ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ५७ जना, टिपर कारबाहीमा ४६ जना, सिसिटिभीमार्फत कारबाही ९५ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ५१ जना, अनावश्यक हर्न बजाउने ४० जना, ब्हील लकबाट १ सय ८४ जना र अन्य १ हजार ७ सय ६३ जना गरी जम्मा २ हजार ८ सय १९ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बुधबार ४३ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २२ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार बुधबार १६ हजार ४ सय ६९ सवारी साधनबाट ९६ हजार ७ सय १८ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १४ हजार ४ सय १ सवारी साधनबाट ८८ हजार ५ सय ९० जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०६:४६