काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १ सय ७५ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बिहीबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८६ जना, लेन उल्लंघन गर्ने १ सय ४६ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ५० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २४ जना, टिपर कारबाहीमा २२ जना, सिसिटिभीमार्फत कारबाही ४३ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय १० जना, अनावश्यक हर्न बजाउने ६० जना, ब्हील लकबाट १ सय २२ जना र अन्य १ हजार ४ सय २२ जना गरी जम्मा २ हजार १ सय ७५ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बिहीबार ३६ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जना गम्भीर घाइते र ३४ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार बिहीबार १५ हजार ३ सय ४७ सवारी साधनबाट ९४ हजार ८ सय ३९ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार २ सय ३४ सवारी साधनबाट ९३ हजार ८ सय ९९ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, ०८:१८