काठमाडौंः काठमाडौंको टोखा नगरपालिका–९ मिलनटोलबाट सुनको औंठी र नगद लुटपाट गरेको अभियोगमा ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ नयाँ बजारस्थित धारा गल्लीमा काभ्रे भुम्लु–४ घर भई हाल काठमाडौं कपुरधारा बस्ने ३७ वर्षीय सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६ सय रुपैयाँ लुटपाट गरेको अभियोगमा धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने २९ वर्षीय बिष्णु ढकाल लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङ स्कुटरमा आईरहेको अवस्थामा ढकालले चलाएको बा २ ज १२२५ नम्बरको ट्याक्सीमा चढेका अपरिचित व्यक्तिहरुले तामाङको उक्त नगद र औंठी लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–९ मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट उक्त नम्बरको ट्याक्सी, ट्याक्सी चालक, गेष्ट हाउस सञ्चालक लगायत ७ जनालाई फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १९:०२