काठमाडौंः भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत आज दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् ।

नरावणे विमानस्थलबाट कोटेश्वर, बालकुमारी, सातदोबाटो हुँदै सोल्टी होटेल गएका छन् ।

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।


छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १६:००