काठमाडौंः सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा थप कडाई गरेको छ ।

जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेको हो ।

महाशाखाले एकातर्फ आम नागरिकहरुलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्य मुख्य चोकहरुमा प्लेकार्डमार्फत सचेतना दिईरहेको छ भने अर्कातर्फ जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाईन्टहरु राखि थप कडाई गरिरहेको छ ।


आज मात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लंघन गरी सञ्चालन गरेका ९४८ वटा दुई पाङ्ग्रे, २४७ भाडाकार (ट्याक्सी) र १६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १ हजार ३५८ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए ।

हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पुर्‍याएको सहयोग प्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उल्लंघन गर्ने १२ हजार ५८२ वटा सवारी साधनहरु नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, १९:५४