काठमाडौंः काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ साथ थप एक साता लम्ब्याइने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि वैशाख १६ गते देखि २२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ ।

विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गरि गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिईएको तथा खाद्यान्न, अत्यावश्यक वस्तु, औषधी लगायतलाई पासको व्यवस्था गरि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गर्ने, सम्बन्धित सञ्चाचारगृहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, १७:१६