काठमाडौंः काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २-३ डिग्री सेल्सियसमा झरेको छ ।

यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ ।

रातको समयमा बादलले आकाश नढाकेकाले चिसो बढेको मौसमविद मञ्जु बासीले बताएकी छन् । यद्यपि दिउँसो १७–१९ डिग्री सेल्सियससम्म तापक्रम रहने उनले बासीले बताइन् ।

यस्तै आज बिहानैदेखि तराई अधिकांश भू-भाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।


रातको समयमा हुस्सुसहित शितलहर पर्न थालेपछि तराईका जिल्लामा ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा पर्न थालेका छन् ।

तराईमा दिउँसोसम्म नै हुस्सु लाग्ने र घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले जनाएका छन् ।

हुस्सु र कुहिरोले पारदर्शीतामा कमी भएकाले यात्रामा सजग रहन पनि महाशाखाले आह्वान गरेको छ ।

आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


प्रकाशित मितिः २ पुस २०७७, बिहीबार, ०७:३७