काठमाडौंः काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा हुने भएको छ ।

आज बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड–१९ संक्रमण दर बढिरहेकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उपत्यकामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।

ठुला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो ।

आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।


। आज उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए ।

उनका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवाकाबाहेक सबै पसल र सार्वजनिक तथा निजी यातायात बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

निषेधाज्ञामा हवाइ यातायात भने बन्द नहुने स्रोतको भनाइ छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १३ गते सोमबार, १७:११