काठमाडौंः काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ ।

आज राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न लागिएको जानकारी दिएका हुन् ।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए ।

महानगरले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन्।


प्रमुख शाक्यले उपत्यकामा बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको भन्दै उनले त्यसअनुसार सरकारले निर्णय हुने विश्वास व्यक्त गरे ।


प्रकाशित मितिः २०७७ साल मंसिर ६ शनिबार, १६:००