काठमाडौंः काठमाडौं महानगरपालिकालाई सडक मानवमुक्त गरिने भएको छ । महानगरपालिकाले आफ्नो वार्षिकोत्सव (२५ औं महानगर दिवस) मनाउने क्रममा आइतबार विशेष कार्यक्रममार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा गर्न लागेको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले सडक मानवमुक्त महानगर घोषणा गर्न थालिएको गोरखापत्रलाई बताए । महानगरलाई सडक मानवमुक्त बनाउन मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगर प्रहरीको साथ रहेको शाक्यले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/२०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।


‘गरिबीको मनोविज्ञान हटाई आत्मविश्वास जागृत गरिनेछ,’ नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपति भण्डारीले भनेकी थिइन्,’मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ । अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन ।’ यही भावमा सरकारको बजेटमा पनि सडक मानव व्यवस्थापन गर्न सरकारले आवश्यक पहल गर्ने जिम्मा लिएको उल्लेख गरेको छ ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १२ गते भक्तपुरमा मानव सेवा आश्रमको उद्घाटन गर्दै सडक मानवमुक्त गर्न केही दिऊँ पाऊँ भन्नेको कमी नरहेको सुनाएका थिए । ‘समृद्ध नेपाल, सुखी नेपाली बनाउने हाम्रो राष्ट्रिय आकाङ्क्षा जे छ त्यस काममा विभिन्न ढङ्गले समर्पित छ, त्यो यहाँ (आश्रममा) देखिएको छ,’ प्रधानमन्त्री ओलीले भने,’यो तपाईंहरुले अभियान चलाउनुभएको छ, राज्यबाट सञ्चालन गरियो भने यसरी जान सक्दैन ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०७:०७