पोखरा: आगामी कार्तिक ९ गते देखि पोखरा प्रिमियर लिग क्रिकेट संचालन गरिने भएको छ । कात्तिक ९ देखि २० गतेसम्म हुने टी-२० क्रिकेट क्विन इभेन्ट्स म्यानेजमेन्टद्वारा  आयोजना गरिएको हो । उक्त लिगमा ६ वटा फ्रेन्चाइज टिम रहनेछन् ।

पोखरा क्रिकेट मैदानमा जारी हुने उक्त प्रिमियर लिगमा केही ईपीएल-डीपीएल खेलेका र केही नयाँ शहरको स्वामित्वमा फ्रेन्चाइज टिम हुने आयोजकले जनाएको छ । यस लिगका लागि खेलाडीहरुको छनोट अक्सनबाट गरिने छ । यस प्रतियोगिता अघि सम्बन्धित फ्रेन्चाइज टिमले यू-१६ टिम बनाउनेछन् र काठमाडौंमा जुनियर पोखरा प्रिमियर लिग खेलाइनेछ । यसको फाइनल भने पोखरामा नै खेलाउने सोच रहेको आयोजकले बताएको छ  ।


पीपीएललाई प्रभावकारी बनाउन फ्यान सदस्यताको अवधारणा पनि अघि सारिएको छ । फ्रेन्चाइज टिमको फ्यान सदस्यहरुलाई प्रतियोगिताका क्रममा पोखरा जान, बस्न सहुलियतमा सुविधा हुनेछ भने सम्बन्धित शहरमा फ्यान जोन बनाएर त्यही खेल हेर्न मिल्ने व्यवस्था पनि मिलाइने आयोजकले जनाएको छ ।

आयोजक क्विन इभेन्ट्सले पत्रकार सम्मेलन गर्दै आफूहरुको मुख्य चुनौती मैदान तयार पार्नु भएको जनाएको छ । आयोजकको अनुसार पिच निर्माणका लागि जुलाई १ मा भारतबाट क्युरेटर आउनेछन् भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि सहयोग गर्ने आश्वासन दिएको छ ।