काठमाडौं: काबेली कोरिडोरको निर्माण समयमा नहुँदा काबेली ‘बी’ जलविद्युत आयोजनाको विद्युत खेर जाने भएको छ। पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा रहेको २५ मेगावाटको काबेली ‘बी’ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि काबेली कोरिडोर प्रशारण लाइन निर्माण नहुँदा उत्पादित विद्युत् खेर जाने भएको छ ।

९९ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उक्त आयोजनाको अधिकांश काम अन्तिम चरणमा पुगेको छ भने केहि दिनभित्रै आयोजना ड्राइटेस्टमा जानेछ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब रहेको छ । त्यसमध्ये ७० प्रतिशत लगानी बैङ्क तथा वित्तीय संस्थाबाट र बाँकी ३० प्रतिशत लगानीकर्ताबाट भएको छ ।


तर विद्युत प्राधिकरणले समयमा प्रशारण लाइन सम्पन्न गर्न नसक्दा उक्त आयोजनको विद्युत खेर जानुकासाथसाथै आयोजनालाई करोडौं नोक्सान हुने स्थिति छ । गत वैशाखभित्रै सम्पन्न हुने आयोजनाले  प्रसारण लाइनको निर्माण सकिने स्थिति नभएपछि निर्माण कार्यको गति घटाएको थियो । २०७४ असोजमा सकिएको आयोजनाको म्याद, वैशाख १० सम्म थपिए पनि काबेली कोरिडोरको निर्माण पूरा नहुँदा अहि आयोजनको विद्युत खेर जाने भएको छ ।

आयोजनाले बाँधस्थलबाट ४ हजार ८ सय मिटर लामो ४ डायमिटर व्यास भएको फलामे पाइपबाट विद्युत्गृहमा पानी पुर्‍याएर विद्युत् उत्पादन गर्ने बताइएको छ । आयोजनाले प्रतिसेकेण्ड ३५ हजार लिटर पानीको सहायताले हिउँदमा समय १० मेवा र अन्य समयमा २५ मेवा विद्युत् उत्पादन गर्ने छ ।

यसअघि काबेली कोरिडोरको स्थलगत अनुगमनका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोरिडोर निर्माणको म्याद नथप्ने बताएका थिए । स्थलगत अनुगमनपछि निर्माणको क्रममा देखिएका अवरोधहरू हटे पनि काम सम्पन्न हुन अझै केही समय लाग्ने देखिएको छ । घिसिङले समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुका साथसाथै  जरिवाना तिराउने र आयोजनालाई क्षेतिपुर्ती दिने जनाएका थिए ।