धुलिखेल: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ ।

आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । अध्ययनको लामो समयसम्म पनि विमानस्थलले गति लिन सकेको थिएन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई विशेष चासो लिएपछि विमानस्थल निर्माणले सार्थकता पाउने भएको हो ।


। पर्यटन मन्त्री अधिकारीले प्रस्तावित विमानस्थल क्षेत्रको आज स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको १५ दिनभित्र काभ्रेमा कुन स्थानमा विमानस्थल बन्ने भन्ने टुंगो लगाइने बताए ।

उनका अनुसार, मन्त्रालयद्वारा एक विज्ञ समिति दुई दिनभित्र गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइनेछ । प्रतिवेदनको निष्कर्षअनुरुप विमानस्थल निर्माण आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने मन्त्री अधिकारीको भनाइ छ ।

“काठमाडौँ भन्दा बाहिर नजिकै आन्तरिक (डोमेस्टिक) विमानस्थल निर्माण गर्न सकियो भने अत्याधिक आन्तरिक उडान यहाँबाट गर्न सकिन्छ, हामीले आज हेरेका तीनै स्थान र यसभन्दा अगाडिका प्रतिवेदनको थप अध्ययन गरेर कुन प्रभावकारी, स्थानीय सहयोग र कम खर्चमा छिटो समयमा तयार हुनसक्छ छिट्टै निर्णय लिन्छौँ,”–मन्त्री अधिकारीको भनाई थियो।

पर्यटनमन्त्री अधिकारीले वैकल्पिक विमानस्थल निर्माणमा प्राविधिकलगायत सबै प्रक्रिया चाँडो अघि बढाउन आफ्नो घोषित १०० दिने कार्यक्रमभित्रै विमानस्थल कहाँ र कुन मोडलमा बन्ने भन्ने निर्णय भइसक्ने उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँको विकल्पका रुपमा काभ्रेमा विमानस्थल निर्माण अपरिहार्य भएकाले यसमा सबैको सहयोग चाहिने बताएका छन् ।

उनले पर्यटकीय क्षेत्र काभ्रेको समग्र विकासका लागि पनि विमानस्थल आवश्यक रहेको भन्दै पर्याप्त स्रोत साधन परिचालन गरेर कम लागतमा चाँडो विमानस्थल निर्माण गरिनुपर्नेमा जोड दिए ।

विमानस्थल निर्माणका लागि क्यानले विसं २०६९ मा ठूलीचौरको अध्ययन गरेको थियो भने अहिले नागीडाँडामा अध्ययन गरेको छ । दुवै स्थानको स्थान र भौगोलिक अवस्थिति हेर्दा बढीमा एक हजार २०० मिटरसम्मको धावनमार्ग बनाउन सकिने अध्ययनले देखाएको छ ।

मौसमी अवस्था र विमान रुट निर्धाणमा सहजता दुवै स्थानमा उपयुक्त देखिन्छ । पहाड काट्ने र भर्ने काम दुवै स्थानमा गर्नुपर्ने हुन्छ । लगानीका हिसाबले एक हजार २०० मिटर लामो धावनमार्ग भएको विमानस्थल बनाउन जम्मा रु पाँच अर्ब खर्च लाग्नेछ, भने ८०० मिटरको बनाउँदा करिब रु तीन अर्ब लाग्ने क्यानको प्रारम्भिक अनुमान छ ।

अध्ययन भएका दुईमध्ये उपयुक्त स्थानको निक्र्योल गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ । यसअघि २०६५ मा काभ्रेकै भकुण्डेबेँसी र पाँचखालमा विमास्थल निर्माणका लागि अध्ययन गर्नेक्रममा स्थानीयको विरोधका कारण सम्भव भएको थिएन ।