काठमाडौंः काभ्रेको पाँचखाल नगरपालिका–२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र ३८ तोला सुनको गहना चोरेर फरार भएका ५ युवालाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ का २७ वर्षीय देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २४ वर्षीय रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका–१ का २३ वर्षीय राम तामाङ, धुलिखेल–७ का १८ वर्षीय हुइबहादुर तामाङ र धुलिखेल–१ का १८ वर्षीय राजन तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चोरी गरी फरार भएका उनीहरूको हुलिया सहित खोजतलास पत्राचार गरिएको थियो ।


। हुलिया अनुसार महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई आइतबार ड्रागन डिस्कोबाट पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान गर्न उनीहरुलाई काभ्रे पठाइएको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, २०:४३