काठमाडौंः सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ ।

गभर्नर डा. चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल मंगलबार सकिएसँगै अर्थ मन्त्रालयले शिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको हो ।

२०७१ चैत ५ गते १६ औं गभर्नरका रुपमा राष्ट्र बैंकको जिम्मेवारी सम्हालेका नेपालले मंगलबारबाट आफ्नो कार्यकाल पूरा गरी औपचारिक रुपमा बिदा भएका छन् ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २५ ले सामान्यतः बहालवाल गभर्नरको कार्यकाल एक महिना बाँकी छँदै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले शिवाकोटीलाई मन्त्रालयले कामुको जिम्मेवारी दिएको हो ।



प्रकाशित मितिः बुधबार, चैत ५, ०८:५८