काठमाडौंः नेपालको भूमि लिपुलेक र कालापानी क्षेत्रलाई भारतले हालै प्रकाशित गरेको आफ्नो नक्सामा समावेश गरेपछि नेपाल सरकारले प्रतिवाद गरेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालको भूभाग भएको र यसमा सरकार स्पष्ट रहेको जनाएको हो ।

नेपालको भूभाग भारतीय नक्सामा परेको समाचार सार्वजनिक भएपछि यसबारे सरकारको आधिकारिक धारणाको खोजी भएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषय दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने जनाइएको छ ।


विज्ञप्तिमा एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने उल्लेख गरिएको छ । ‘भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, ०७:२३