राजधानीको विशाल छायाँमा
पूर्वदेखि पश्चिमका
शुद्ध राष्ट्रसेवक छन्
देशका बलिया खम्बा छन्
अलिशान महल छन्, के-के छन् के-के
बिचित्र अनुहार छन्
व्यवसायिक मुस्कान छन्

हजारौ मानिसको गुजारा चल्छ
आत्मसम्मान बन्धकी राख्छ
रौनकताले मन भुलाउँछ
भाकरीमा रमाउँछ
कोठा पाइन्न भाडा बढाउँछ
साक्षी छन् गरीवका मनहरु
कसले गन्ध सुँघने, आवाज सुन्ने
आखाँ देख्दैन, विवेक चल्दैन
स्वाभिमानका कुरा कोही गर्दैन
समर्थनका कुरा नगर्ने हो भने काली !
सोचेजस्तो राजधानीमा केही छैन ।

झुट आदर्शको खेल मात्र छ
पाखण्ड आडम्बरको ढोल मात्र छ
इतिहास खोतल्दा काली
राजधानीको युद्धमा नै
नाक कान काटी धार्नी पुगेको
अनेकौ घटना छन्
सुनौला इतिहास पनि छन्
सवारी साधनहरु घाँडोजस्ता छन्
स्वतन्त्र साँढे जस्ता छन्
उत्तेजना छ, संवेदना छैन
विद्यार्थी छन्, स्तरीय शिक्षा छैन
प्रत्येक साथीहरु छन्
रङ्गमञ्चमा खेल्ने पात्रजस्ता
भूमिका छैन, हार्दिकता हुँदैन
वास्तविकतामा काली
सोचेजस्तो राजधानी केही छैन ।


लेखेर शब्दमा लेखिन्न
दुइ आँखाले राजधानी देखिन्न
टेकेर मात्र राजधानी भेटिन्न
हरेक मनलाई सोध्नुपर्छ
कस्तो छ राजधानीको आत्मकथा
बा आमाको पैसा स्वाहा
इमान्दारीता माथि घमण्ड गर्छ
मपाईं भनी साध्य हुँदैन
सत्य बोल्दा मुन्टो बटार्छ
चिनेको नचिने झै गर्छ
भोक लाग्यो कसैले सोध्दैन

तिमीलाई पक्कै लाग्ला काली !
सम्पूर्ण राजधानीमा छ
यथार्थ जस्तो कल्पना गर
जस्तो सोच राख
मेरो जिम्मेवारी केही छैन
पैसा छैन त काली !
सोचेजस्तो राजधानीमा केही छैन ।

दिनहुँ दुःखी छन्
पूर्वदेखि–पश्चिमहरु
कोठामा ग्याँस हुँदैन
खोजखबर कसैले गर्दैन
गाउँलेलाईं हेप्छन् यहाँ
दियो मानवताको बल्दैन
त्यसैले त काली !
सोचेजस्तो राजधानीमा केही छैन ।

बेइमान यहाँ अगाडी बढ्छ
इमानी बर्बाद हुन्छन्
गाउँमा चप्पल पड्काएर घुम्नेहरु
राजधानीमा झूटको खेती चलाउँछन्
सक्नेले सम्पूर्ण गरेको छ
नसक्नेलाई कुनै सोधाइ छैन
स्वार्थभन्दा माथि कोही छैन
विडम्वना छ, आडम्वरी छ
महँगी छ, जालझेल छ
कृतिम अभाव छ
कहिले कुनै हुँदैन
सपनामा सम्पूर्ण भेटाउँछ
थोरै पानी खाई प्यास मेटाउँछ
टि.यु. बेरोजगारी पढाउछ
एउटा भन्छ अर्को गर्छ
भोलिको कुनै भरोसा छैन
इमान्दारीता बल्ल भन्दैछु काली !
सोचेजस्तो राजधानी केही छैन

कान भएर सुन्दैन
आखाँ भएर देख्दैन
खुट्टा बाहेक अरु देखेकै छैन
शुभलाभ भन्दा अरु सुन्दैन
हजारौं आशुमा रमाउँछ
गरिवको इमान बेची कमाउँछ
खुट्टा तान्छ हात तान्दैन
दुर्गम बस्तीको व्यथा के थाहा
आफ्नै कुरा गर्छ, बिचारको कदर छैन
यही यथार्थ हो काली !
सोचेजस्तो राजधानी केही छैन ।

  • खड्ग शाही आरोहण