कास्कीः कास्की प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १० जनालाई पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका माछापुच्छ्रे गाउँपालिका–९ तल्लो गाँउ बस्ने ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई घटनाको १३ वर्षपछि बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०६४ साउन ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ७ बर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला अदालत कास्कीको फैसलाले बन्यजन्तु सम्बन्धी कसुर मुद्दामा १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका १ जना तथा जुवा सम्बन्धी मुद्दा अन्तर्गतका जरिवाना सजाय भएका ८ जना प्रतिवादीहरुलाई समेत पक्राउ गरेको छ ।


उनीहरुलाई जिल्ला अदालत कास्की बुझाइएको उक्त कार्यालयले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १६:३७